अस्ट्रेलिया, १२ साउन । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक शनिबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो ।
क्यानबेरास्थित नेपाली दूतावासका अनुसार सिड्नीबाट शुक्रबार साँझ उक्त स्थानमा जान हिँडेका १५ जना साथीहरुमध्ये ५ जना दुर्घटनामा परेका थिए । अन्य १० जना क्यानबेरामै बसेका भए पनि खाना खाएर ५ जनाको समूह भने एउटै गाडीमा स्नोई माउण्टेनका लागि राति नै हिडेको थियो ।
दुर्घटनामा नेपाली विद्यार्थीद्वय समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको अस्पतालमा उपचार गराइरहेका घाइते विद्यार्थीहरुलाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।
उक्त घटनामा घाइते भएका अश्विन कँडेलका अनुसार क्यानबेराबाट करिब २ घण्टाको बाटोमा रहेको उक्त स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेका थिए । कँडेलले दुर्घटनाको समयमा आफू निदाएकोले तत्कालै केही थाहा नपाए पनि दुर्घटनापछि सहयोगका लागि आपतकालीन सेवालाई सम्पर्क गरेको बताए ।
बिदाको समयमा साथीहरु मिलेर हिउँ खेल्न शुक्रबार साँझ सिड्नीबाट स्नोई माउण्टेनका लागि उनीहरु ३ वटा गाडीमा हिँडेका थिए ।
बिहान करिब ४ बजे भएको दुर्घटनामा सख्त घाइते दुईजनालाई हेलिकप्टरमार्फत उपचारका लागि क्याबेरा ल्याइएको थियो । उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ भने अर्का सामान्य घाइतेलाई घटनास्थल नजिकको कुमा अस्पतालमा उपचार गराइएको छ ।
क्यानबेराबाट ९० किलोमिटर टाढा भएको दुर्घटनापछि क्यानबेरा अस्पताल ल्याइएका घाइतेहरुको अवस्था बुझ्न कार्यवाहक राजदूत सापकोटाका साथै एनआरएन एसिटीका प्रतिनिधिहरु समेत अस्पताल पुगेका थिए ।
घाइतेहरुलाई भेटेपछि कार्यवाहक राजदूत सापकोटाले मृतकहरुको बारेमा प्रहरीबाट जानकारी लिने प्रयास भइरहेको र घाइतेहरुलाई आवश्यक सहयोग पुरयाउन दूतावास तयार रहेको बताइन् ।
मृतकद्वयका साथै अन्य तीनजना सिड्नीको विश्वविद्यालयमा अध्ययन गरिरहेको बुझिएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यम एबिसीले जनाएको छ ।






