Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

रमेश गुरागाईँ

ऐतिहासिक संविधान सभाबाट पहिलोपटक जारी नेपालको संविधान २०७२ को चुनौतीपूर्ण कार्यान्वयन स्वरुप स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाका चुनाव सम्पन्न भइसकेका छन् । आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भइसकेपछि देशले संक्रमणकालको बिदाइ एवम् नयाँ बाटो तय गर्नेछ । समाजवादउन्मुख राज्यको परिभाषा संविधान आफैंले दिएकाले यो बाटो समाजवाद सम्म पुग्नेछ, पुग्नैपर्छ । यही समाजवाद स्थापनाको रणनीतिक उद्देश्यसहित नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) लगायत कम्युनिस्ट पार्टीको एकता प्रकृया अघि बढिरहेको छ, जुन समसामयिक राजनीतिक घटनाक्रममा सर्वाधिक चर्चामा रहेको छ ।

कस्तो एकता ?
रुसमा लेनिनले समाजवादी क्रान्ति पुरा नहुञ्जेलसम्म पार्टीको नाम कम्युनिस्ट राख्नुभएन । उसबेला पार्टीको नाम ‘रुसी सामाजिक जनवादी मजदुर पार्टी (बोल्शेविक)’ थियो । १९१७ अक्टोवरमा समाजवादी क्रान्ति सम्पन्न गरेपछि आयोजित पहिलो महाधिवेशनबाट लेनिनले पार्टीको नाम बदलेर ‘रुसी कम्युनिस्ट पार्टी (बोल्शेविक)’ राख्नुभयो । कम्युनिस्टको अर्थ साम्यवादी हो र लेनिन समाजवादपछि कम्युनिज्म अर्थात् साम्यवाद स्थापना गर्ने बाटोमा हिँड्न चाहनुहुन्थ्यो । यसरी रुसमा लेनिनले पार्टीको नाममा कम्युनिस्ट शब्द प्रयोग गरेपछि भने विश्वभर सबै माक्र्सवादीहरुले पार्टी स्थापना गर्दा यही शब्द प्रयोग गरी नाम राख्न थालेका हुन् । नेपालमा पनि स्थापनाकाल (२००६ साल) देखि नै नाममा कम्युनिस्ट शब्द प्रयोग गरिएको हो । त्यसैले समाजवाद स्थापनाको लक्ष्य तय गर्दै शुरु गरिएको अहिलेको एकता प्रकृया स्वतः कम्युनिस्ट एकता हो ।
यो वामपन्थीहरुबीच एकता मात्र होइन किनकि वामपन्थी हुन प्रगतिशील भए पुग्छ । समकालीन राजनीतिक अवस्थाभन्दा एक कदम अघिका नीति र कार्यक्रम शिरोधार्य गर्नु वाम परिभाषाभित्र पर्दछ, जुन फ्रान्सेली संसदबाट प्रयोग हुन थालेको शब्द हो । त्यहाँको प्रगतिशील र परिवर्तनको आवाज उठाउने पार्टी संसदको बायाँ भागमा बस्ने र अर्को पार्टी दायाँ भागमा बस्ने गरी बैठक हलको व्यवस्थापन गरिएको थियो । यससँगै बायाँ अर्थात् वाम शब्दले संसारभरिका प्रगतिशील पार्टीलाई सम्बोधन गर्न थालिएको हो । नेपालमा कम्युनिस्ट पार्टी प्रगतिशील र परिवर्तनका एजेण्डामा सँधै अगाडि देखिने भएकाले वामपन्थी भनेर चिनिएका हुन् । यसर्थ गैरकम्युनिस्ट पनि वामपन्थी हुन सक्ने भएकाले एकतालाई वामपन्थी शब्दमा सिमित गरिनुहुन्न ।

यसैगरी माओवादी केन्द्र र एमालेबीचको एकतालाई लोकतान्त्रिक मात्र भन्दा यसको अवमूल्यन हुन्छ । नेपालमा कम्युनिस्ट इतरका जनआन्दोलन पक्षधर शक्तिहरुलाई राजा रहुञ्जेलसम्म प्रजातान्त्रिक र गणतन्त्र स्थापनापछि लोकतान्त्रिक शब्दले सम्बोधन गर्ने चलन छ । यद्यपि यी शक्तिहरुभन्दा कम्युनिस्टहरुनै नेपालको सन्दर्भमा बढि लोकतान्त्रिक रहेको घटनाक्रमले पुष्टि गरेका छन् । त्यसैले माओवादी केन्द्र र एमालेबीचको एकता गैरलोकतान्त्रिक त हुँदै होइन तर गैरकम्युनिस्ट पनि होइन । त्यसैले यसलाई कम्युनिस्ट एकताकै रुपमा बुझ्नु र उल्लेख गर्नु सही हुनेछ ।

विगतको समिक्षा

माओवादी केन्द्र र एमाले विगतमा लामो समयदेखि फरफरक विचार र कार्यादिशाबाट आजको ठाउँमा आइपुगेका हुन् । दुई भिन्न पृष्ठभूमि भएका राजनीतिक पार्टी एउटै संगठन र कार्यक्रमसहित अघि बढ्न आगामी दिनमा अवलम्बन गरिने नयाँ विचार र कार्यदिशामा अन्ततः एकै ठाउँमा अभिन जरुरी छँदैछ । यसबाहेक विगतको समिक्षा समेत अनिवार्य हुन्छ । यस चरणलाई कसरी सम्पन्न गर्ने वा दस्तावेजमा कसरी उल्लेख गर्ने भन्ने विषय केही पेचिलो छ ।

उदाहरणका लागि जनयुद्ध हुँदै माओवादी आजसम्म आइपुग्दा थुप्रै उपलब्धी हासिल भए । संविधानसभा, नयाँ संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी व्यवस्था, समानुपातिक प्रतिनिधित्व आदि थुप्रै सकारात्मक काम माओवादीको कारण सम्भव भए । यसकारण यी माओवादीका सबल पक्ष हुन् । माओवादीभित्र देखापरेका कमीकमजोरी पनि खोजी गर्न आवश्यक हुन्छ । यसरी सबल र दुर्बल पक्ष केलाउँदा समग्रमा माओवादीका सकारात्मक पक्ष फेला पर्नेछन् । यसैगरी एमालेका पनि सबल र दुर्बल पक्ष विवेचना गरी सारतः सकारात्मक निष्कर्षमा पुग्नैपर्छ । यसरी दुवै पार्टीलाई सकारात्मक मान्दा मात्र एकता सम्भव हुन्छ किनकि एउटाले अर्कालाई गलत सावित गरेर वा एकले अर्काको कुनै भूमिका छैन भनेर एकताको प्रकृया सफल पार्न सकिन्न ।

यद्यपि कम्युनिस्ट क्रान्तिकारीहरुको निम्ति विगतभन्दा आगतमहत्वपूर्ण हुन्छ । त्यसैले समाजवाद स्थापनाको कार्यभारलाई ख्याल गर्दै उपयुक्त र सहजताको मोडालिटी तय गरी समिक्षा सम्पन्न गर्नुपर्ने हुन्छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नयाँ विचारको निर्माण
माओवादी केन्द्र र एमाले पार्टी एकताका लागि सबैभन्दा जटील विषय एकतापछिको पथप्रदर्शक सिद्धान्त र कार्यदिशा हो । एमालेले माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो सिद्धान्त मान्दै आएको छ । त्यसैगरी माओवादी केन्द्रले माक्र्सवाद–लेनिनवाद–माओवादलाई अंगीकार गरेको छ । त्यसो त माओवादीले एक्काइसौँ शताब्दीमा जनवादको विकासबारे अवधारणात्मक विचार समेत अघि सारेको छ । यसका बावजुद कम्युनिस्ट एकतालाई सार्थक बनाउन विचारमा सामिप्यता खोजिनुपर्छ । कार्यदिशामा एकता पैदा गर्नुपर्छ । एकले अर्कालाई सकारात्मक दृष्टिकोणसहित मित्रवत व्यवहार गर्नुपर्छ । जुन उद्देश्यका लागि एकता गरिन्छ, त्यसमा प्रतिबद्ध रहन अपरिहार्य हुन्छ ।

एमालेले जनताको बहुदलीय जनवाद (जबज) त्यो बेला अघि सा¥यो, जुन बेला (२०४९ साल) मदन भण्डारीको नेतृत्वमा कम्युनिस्टहरु निरंकुश हुँदैनन् भन्ने सफाइ दिन आवश्यक ठानियो । २०६० सालमा प्रतिपादित एक्काइसौँ शताब्दीको जनवाद (एशज) को अन्तर्य पनि कम्युनिस्ट अथवा माओवादीले बहुदलीय प्रतिस्पर्धा स्वीकार गर्छन् भन्ने हो । यसर्थ सर्वहारावर्गको अधिनायकत्व पुँजीवादी लोकतन्त्रभन्दा फराकिलो हो भन्ने विषय स्पष्ट पार्न र स्टालीनकालीन कम्युनिस्ट ‘भूत’ को उपयुक्त खण्डन गर्न जबज र एशज केन्द्रित छन् ।

जबज शुरुमा एउटा कार्यक्रमको रुपमा थियो र पछि गएर २०५४ सालदेखि यसलाई सिद्धान्त भनियो । मदन भण्डारी हुञ्जेलसम्म यसलाई विशुद्ध शान्तिपूर्ण कार्यक्रमको रुपमा बुझ्न मिल्दैन किनकि बलप्रयोगको आवश्यकतालाई त्यस दस्तावेजमा किटेरै उल्लेख गरिएको थियो ।तत्कालिन एकता केन्द्रले प्रचण्डको नेतृत्वमा सशस्त्र संघर्षको तयारी गरिरहेको हुनाले जबजले शान्तिपूर्ण कोर्स लियो । यदि जनयुद्ध कमजोर वा असफल हुँदै गएको र कम्तिमा मदन भण्डारी जिवित रहेको भए एमालेले जबजबाट बलप्रयोगको सिद्धान्त नहटाउने सम्भावना रहिरहन्थ्यो । यद्यपि कम्युनिस्टले जन्मिँदै हतियार बोक्न जरुरी हुन्न, यसलाई अन्तिम आवश्यकताको रुपमा स्वीकार गर्नुमाक्र्सवादको गुदी (सार) हो । यसबाहेक जबजमा रहेका हदबन्दीभन्दा माथिका जमिन अधिग्रहण गर्दा मुआब्जा दिने जस्ता नकारात्मक विषयलाई बहसमा लैजान सकिन्छ ।

यता एशजको भाव नयाँ जनवादी क्रान्ति पुरा गर्नेतर्फ भन्दा पनि सफलतापछि प्रतिक्रान्तिबाट कसरी बच्ने भन्ने विषयसँग सम्बन्धित छ । यसमा भनिएको छ, हामीसँग शुन्यबाट शुरु गरेर महान् क्रान्ति पूरा गरेका अनुभव छन् तर एक थोपा रगत नबगाइकन प्रतिकृयावादीहरुले सफल पारेका प्रतिक्रान्ति रोक्ने अनुभव छैनन् । त्यसैले प्रतिक्रान्ति रोक्न राजनीतिक पार्टीबीच बहुदलिय प्रतिस्पर्धा (किनकि समाजमा वर्ग रहुञ्जेल पार्टी रहन्छन्) अनिवार्य हुन्छ, सेना ब्यारेकमा होइन जनताको बीचमा हुनुपर्छ, मुख्य नेताहरु सरकार (सत्ता) मा सहभागी हुनुहुँदैन आदि अवधारणा एशजले बोकको छ ।

जबज र एशज दुवै अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेका मुलुकमा हुने कम्युनिस्ट क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्तिसँग सम्बन्धित छन् । माओवादी केन्द्रको २०६९ साल माघमा सम्पन्न सातौँ महाधिवेशन र एमालेको २०७१ साल असारमा सम्पन्न नवौँ महाधिवेशनकाविश्लेषण र संश्लेषण समान छन्, जसअनुसार नेपालको कम्युनिस्ट आन्दोलन नयाँ जनवादी कार्यक्रमबाट अघि बढेर समाजवादतर्फ अघि बढेको छ । यस्तो परिवेशमा हुँदै गरेको दुई पार्टीबीचको एकताको प्रस्तावना र एकीकृत पार्टीको सिद्धान्त माक्र्स, लेनिन र माओका शिक्षालाई आत्मसात गर्दै प्रतिपादन गर्नुपर्छ । जहाँसम्म माओवादको सवाल छ, यो जनवादी क्रान्ति मात्र होइन समाजवादी क्रान्तीका निम्ति पनि सार्वभौम विचार हो ।

तपाईको प्रतिक्रिया