Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

कञ्चनपुर, ६ मंसिर २०८३ । भारतको उत्तराखण्डस्थित जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ ।

दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका गोपिन दमाई भारतको उधमसिंह नगरअन्तर्गत रमखोला नजिकै सुरई रेञ्जको जंगलमा मृत भेटिएका हुन् ।

घरबाट निस्किएका दमाईबारे परिवारले शुक्रबार बिहान मात्रै जानकारी पाएको थियो । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट फोन आएपछि उनी भारतको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको हो ।

भारतीय प्रहरीले शव फेला परेको जानकारीसहित तस्वीर पनि पठाएको थियो । भारतीय अधिकारीहरूले बाघको आक्रमणबाट दमाईको मृत्यु भएको बताएका छन् । उनको शरीरका विभिन्न भागमा चोटपटक तथा गहिरा घाउका निशान देखिएको आफन्तले बताएका छन् ।

घटनाबारे जानकारी पाएपछि मृतकका परिवारका सदस्य र दोधारा चाँदनी नगरपालिका–४ का वडा सदस्य गगनबहादुर सिंह भारतको उधमसिंह नगर पुगेका थिए ।

शव पहिचान गरेपछि आवश्यक प्रक्रिया र पोस्टमार्टम पूरा गरी शुक्रबार घर ल्याइएको मृतकका भाइ राजकुमार दमाईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया