काठमाडौं, २७ कार्तिक २०८३ । सिन्धुपाल्चोकका सुजन तामाङ एक हप्तादेखि प्रहरीको थुनामा छन् । प्रहरी वृत्त बौद्धको टोलीले २८ वर्षीय तामाङलाई नक्कली डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ गर्न खोजेको थियो । पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै जाइलाग्न खोजेपछि गोली हानेर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का सुजन पछिल्लो समय काठमाडौंको गोकर्णेश्वर बस्दै आएका छन् । गत असोज २२ गते गोकर्णेश्वरको लसुनटारमा सस्तोमा डलर उपलब्ध गराउने भन्दै दुईजनाबाट १६ लाख रुपैयाँ लुटेर भागेको आरोप उनीमाथि छ ।
सोही घटनादेखि उनी फरार थिए । गत आइतबार प्रहरीको टोलीले उनलाई बौद्ध क्षेत्रबाट पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा उनी ठगी र लुटपाटको घटनामा सक्रिय रहेको पनि खुलेको जनाइएको छ । प्रहरीका अनुसार, उनीविरुद्ध २०८० सालयता प्रहरीको विभिन्न आठवटा युनिटका मुद्दा चलेको खुलेको छ ।
उनी नक्कली डलरको प्रभावदेखि नक्कली सुनको धन्दामासमेत सक्रिय रहेको अनुसन्धानबाट खुलेको जनाइएको छ ।
काठमाडौं प्रहरीका अनुसार, उनीविरुद्ध २०८० मंसिरमा प्रहरी वृत्त स्वयम्भूमा ठगी मुद्दा चलेको खुलेको छ ।
धरौटीमा छुटेको तीन महिनापछि नै पुनः फागुन २३ गते स्वयम्भू प्रहरीले नै पुनः ठगी मुद्दामै पक्राउ गरेको खुलेको प्रहरीको रेकर्डमा देखिएको छ ।
त्यसपछि २०८१ साउनमा जिल्ला प्रहरी कार्यालय भक्तपुर, २०८१ कात्तिकमा प्रहरी वृत्त स्वयम्भू, इलाका प्रहरी कार्यालय सिन्धुपाल्चोक बाह्रबिसे, २०८२ मंसिरमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनलाई पक्राउ गरेको रेकर्ड प्रहरीले फेला पारेको छ ।
यसअघि उनलाई बौद्ध प्रहरी र प्रहरी वृत्त सातदोबाटोको टोलीले पनि लुटपाट तथा ठगी मुद्दामा नै पक्राउ गरेको खुलेको छ ।
कसरी गर्थे ठगी र लुटपाट ?
अनुसन्धानमा देखिएअनुसार सुजनले पीडितलाई विभिन्न प्रलोभनमा पारेर ठगी गर्दै आएका प्रहरीले जानकारी दिएको छ ।
पछिल्लोपटक पनि दुईजनालाई सस्तोमा डलर उपलब्ध गराउने भन्दै आठरआठ लाख रुपैयाँ जम्मा गर्न लगाएर उनीहरूले ल्याएको पैसाको झोला लुटेर भागेको आरोप उनीमाथि छ ।
उनले विभिन्न समूह बनाएर डलर तथा नक्कली सुन देखाउने र पीडितलाई प्रभावमा परेर नगद लुट्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनको समूहमा सक्रिय रहेका केही आरोपीको खोजी थालेको छ । अनुसन्धानका क्रममा पछिल्लो समय सुजनले स्वयम्भू, बूढानीलकण्ठ, साँखुलगायत क्षेत्रमा लुटपाटगर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा सुजनले विभिन्न क्षेत्रका गेष्ट हाउस, रेष्टुरेन्ट, सुन पसल, हार्डवेयर पसल, मेडिकल तथा डेरी पसलका होडिङ बोर्डका फोटो खिच्ने र बोर्डमा राखिएको नम्बरमा फोन गर्ने गरेको खुलेको छ । जसमा उनले आफू समस्यामा परेको भन्दै आफूसित भएको सुन तथा डलरहरू सस्तोमा दिने प्रलोभनमा पार्ने र पीडितहरू प्रभावित भएर नगद ल्याउँदा लुट्ने गरेको खुलेको छ ।
अनुसन्धानका क्रममा उनले एकजना पीडितलाई प्रभावमा पार्न प्रयोग गरेको मोबाइल नम्बर अर्को व्यक्तिलाई सम्पर्क गर्दा प्रयोग नगर्ने समेत खुलेको प्रहरीले जानकारी दिएको छ ।
उनले हरेकपटक मोबाइल नम्बर र फोन सेटसमेत परिवर्तन गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट ठगीमा प्रयोग गर्ने नक्कली नम्बरप्लेटहरूसहितको मोटरसाइकल, डलरको प्रलोभन देखाउन प्रयोग गरिएको २० रुपैयाँको ४ बन्डल नेपाली रुपैयाँ, डलर जस्तै आकारमा काटेर राखेको सेतो कागजको बन्डल, कागजको बन्डलमा तल र माथि राखिएको ५र५ को डलर र एक किलो नक्कली सुनको ढिक्कासमेत बरामद गरेको छ ।बाह्रखरीबाट






