काठमाडौं, २७ कार्तिक २०८३ । पश्चिमी वायुको प्रभावका कारण आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । केही स्थानमा मेघ गर्जन, चट्याङ तथा असिनासमेत पर्नसक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् ।
नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार, शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ । यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन । तर, आईतबार पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने देखिएको छ ।
आइतबार विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद् पोखरेलले बताइन् । त्यस्तै, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
पश्चिमी वायुको प्रभावबाट हुने वर्षासँगै केही स्थानमा असिना, मेघ गर्जन र चट्याङको सम्भावना पनि रहने उनको भनाइ छ । विशेष गरी अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा वर्षा तथा असिनाले क्षति पुर्याउन सक्ने भएकाले किसानले सावधानी अपनाउनुपर्ने देखिन्छ ।
यद्यपि, अहिले देखिएको प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको भने छैन । यसबाट भारी वर्षाको सम्भावना नरहेको र अधिकांश स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमसम्म हिमपात हुनसक्ने सम्भावना रहे पनि यसलाई असामान्य मौसमी जोखिमका रूपमा लिनुपर्ने अवस्था नरहेको उनले बताइन् ।
यस्तो छ मौसमविद् पोखरेलको भनाइ :
आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ । तर, आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । वाग्मती र कोसी प्रदेशका पहाडी भूभागमा पनि छिटपुट वर्षा हुनसक्छ ।
वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले विशेषगरी धानबाली काट्न बाँकी रहेका किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । धान र पराल सुरक्षित राख्न आवश्यक सावधानी अपनाउनुपर्छ । हिउँदमा एल निनोको प्रभाव मनसुनको तुलनामा फरक हुने भएकाले यसले वर्षालाई अनिवार्य रूपमा घटाउँछ भन्ने हुँदैन ।
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा हिउँदे वर्षा र हिमपात हुन सक्छ, जुन हिउँदे बालीका लागि लाभदायक पनि हुन्छ । हाल ठूलो मौसमी प्रणाली विकास भएको अवस्था छैन । तर पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएमा पहाडी क्षेत्रमा मध्यम वर्षा, असिना तथा उच्च हिमाली क्षेत्रमा मध्यम हिमपात हुनसक्ने सम्भावना छ । त्यसैले आत्तिनुपर्ने अवस्था नभए पनि मौसम पूर्वानुमान र अद्यावधिक परामर्शमा ध्यान दिन आवश्यक छ । न्युज एजेन्सी नेपाल






