बिर्तामोड, ११ कात्तिक २०८३। नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको जिल्ला सभापति कृष्ण हुमागाई बन्ने भएका छन् ।
नेपाली कांग्रेसको नियमित १५ औं महाधिवेशन अन्तरगत झापाको जिल्ला अधिवेशन यहि कात्तिक १५ गते बिर्तामोडको अग्रसेन भवनमा हुने भएको छ । सो जिल्ला अधिवेशनबाट हुमागाई जिल्ला सभापति बन्ने भएका हुन् । नेपाली कांग्रेस दुईवटा पक्षमा विभाजित भएपछि हुमागाईले नै झापामा नियमित महाधिवेशन पक्षको अगुवाई गर्दै आएका छन् । उनी हाल कांग्रेस संस्थापन पक्षमा रहेको देउमान थेबे नेतृत्वको जिल्ला समितिमा सचिव रहेका थिए । नियमित महाधिवेशन पक्षधरको जिल्ला अधिवेशनबाट कालेन्द्रप्रसाद सिंह राजवंशी र खगेन्द्र पाण्डव अधिकारी जिल्ला समितिको उपसभापति बन्ने भएका छन् । सचिवको टुंगो लाग्न बाँकी रहेको पार्टी निकट स्रोतले जनाएको छ ।
जिल्ला अधिवेशन तयारी समिति र क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँरनगर समितिको आज बसेको संयुक्त बैठकले यसअघिको तयारी समितिलाई अधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ ।
रुपान्तरित जिल्ला अधिवेशन आयोजक समितिको संयोजकमा तयारी समितिकै संयोजक कृष्ण हुमागाँई रहेको प्रचार समितिका सदस्य बिष्णु सुब्बाले जानकारी दिए । बिराटनगरको कोशी प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको जिल्ला संयोजनको जिम्मेवारी सम्हाल्दै आएका पार्टीका जिल्ला सचिवसमेत रहेका हुमागाँईले राष्ट्रिय सम्मेलनपछि जिल्ला अधिवेशन तयारी समितिको संयोजकको जिम्मेवारी सम्हालिसकेर क्षेत्रीय अधिवेशन सम्पन्न गराइसकेका छन् ।
आयोजक समितिको सदस्यहरुमा पाँचवटा क्षेत्रीय समितिका सभापति, १० प्रदेशसभा सभापति र १५ गाउँ नगर सभापति, तयारी समितिका सदस्यसमेत गरि ५१ सदस्यीय आयोजक समिति गठन गरिएको महाधिवेशन प्रतिनिधि शुसिला संग्रौलाले बताइन् ।
त्यसैगरी जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न ९ वटा उपसमिति गठन गरिएको तयारी समितिका सहसंयोजक कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए ।
गठित समितिहरुमा ओमकृष्ण बिमलीको संयोजकत्वमा आर्थिक समिति, राजेन्द्र उप्रेतीको संयोजकत्वमा प्रचार–प्रसार समिति, शोभा श्रेष्ठ नेम्बाङको संयोजकत्वमा स्वागत समिति, प्रवेश बस्नेतको संयोजकत्वमा मंच तथा साउण्ड सिस्टम ब्यवस्थापन समिति, संजय न्यौपानेको संयोजकत्वमा स्वयम्सेवक समिति लगायतका समितिहरु गठन गरिएको सदस्य सचिव संजय निरौलाले जानकारी दिए।
नेपाली कांग्रेसको जिल्ला अधिवेशनलाई उद्घाटन गर्न पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता एनपी साउदलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको संयोजक हुमागाईले जानकारी दिए ।
त्यसैगरी राष्ट्रिय राजनीतिक दलका झापा जिल्ला प्रमुखहरुलाई अधिवेशन उद्घाटन समारोहमा अतिथिका रुपमा निमन्त्रणा गरिएको जनाइएको छ ।





