Online Bichar
बुधबार, कार्तिक १२, २०८३ | Wednesday, October 28, 2026

काठमाडौँ, ११ कार्तिक २०८३ । यातायात व्यवस्था विभागले सवारी साधनहरूलाई प्रविधिमैत्री र सुरक्षित बनाउन आवश्यक उपकरण जडानका लागि सेवा प्रदायक सूचीकरण प्रक्रिया सुरु गरेको छ।

विभागले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ कार्यान्वयनका लागि भेहिकल लोकेशन ट्र्याकिङ डिभाइस, आपत्कालीन सूचना बटन (प्यानिक बटन) र क्यामेरा प्रणाली जडान गर्न इच्छुक कम्पनीहरूलाई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो।

मापदण्डअनुसार सेवा प्रदायकसँग जीपीएस र टेलिमेट्रिक्स उत्पादनमा कम्तीमा ५ वर्षको अनुभव, नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति (टीएपी–०४), अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण तथा काठमाडौँ बाहिर सेवा केन्द्र हुनुपर्नेछ । कागजात पूरा भएका कम्पनीका यन्त्रहरू विभागको सर्भरमा परीक्षण सफल भएपछि सुरुमा ३ महिनाका लागि अस्थायी र पछि पूर्ण सूचीकरण गरिने विभागले जनाएको छ ।

यसैगरी, हाल मापदण्डविपरीत उपकरण जडान गरिसकेका सवारी साधनहरूले ६ महिनाभित्र नयाँ मापदण्डअनुसार उपकरण परिवर्तन गरिसक्नुपर्नेछ । इच्छुक कम्पनीले विभागको कार्यालय वा इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

 

तपाईको प्रतिक्रिया