Online Bichar
शुक्रबार, आश्विन ३०, २०८३ | Friday, October 16, 2026

काठमाडौं, २९ असोज २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुकहरूका लागि ‘नगरपालिका क्यान्डिडेट क्लबुको आवेदन खुला गरेको छ। आउँदो स्थानीय निर्वाचनमा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुकले पार्टीको आधिकारिक मोबाइल एपबाट आवेदन दिन सकिने रास्वपाले जनाएको छ।

रास्वपाले सार्वजनिक गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३ अनुसार क्यान्डिडेट क्लबमा सहभागी हुन नेपाली नागरिक हुनुपर्ने, मनोनयनपत्र दर्ताको अन्तिम मितिसम्म २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने र सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ। प्रचलित कानुनले उम्मेदवार बन्न अयोग्य नठहराएको हुनुपर्ने व्यवस्था गरिएको छ।

उम्मेदवार बन्न चाहने व्यक्ति रास्वपाको सक्रिय सदस्य हुनुपर्नेछ। पार्टीको सदस्यता प्राप्त गरेको अवधिका आधारमा पनि आवेदनका लागि समयसीमा तोकिएको छ। पहिलोपटक राजनीतिक दलमा आबद्ध भएका व्यक्तिले पालिका प्रमुख, उपप्रमुख वा वडाध्यक्षमा आवेदन दिन सदस्यता प्राप्त गरेको कम्तीमा ४५ दिन पूरा भएको हुनुपर्नेछ। अन्य दल त्यागेर रास्वपा प्रवेश गरेका व्यक्तिका हकमा भने ९० दिन पूरा भएको हुनुपर्नेछ।

वडा सदस्यका लागि पहिलोपटक राजनीतिक दलमा आबद्ध भएका व्यक्तिले सदस्यता प्राप्त गरेको तीन दिन र अन्य दलबाट रास्वपा प्रवेश गरेका व्यक्तिले सात दिन पूरा गरेपछि आवेदन दिन सक्नेछन्। पार्टीको सदस्यता प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नआएसम्म केन्द्रीय समितिले तोकेको व्यवस्थाअनुसार अद्यावधिक अभिलेखमा दर्ता भएका प्रमाणित साधारण सदस्यलाई पनि योग्य मान्न सक्ने रूपरेखामा उल्लेख छ।

आवेदन दिनुअघि इच्छुक व्यक्ति अन्य कुनै राजनीतिक दलको सदस्य नरहेको वा त्यस्तो सदस्यता विधिवत् त्याग गरिसकेको हुनुपर्नेछ। उनीहरूले पार्टीको विधान, मूल्य-मान्यता र सुशासन, पारदर्शिता तथा नागरिक उत्तरदायित्वसम्बन्धी प्रतिबद्धता स्वीकार गर्नुपर्नेछ। उम्मेदवार छनोट प्रक्रियामा पूर्णरूपमा सहभागी हुन तथा वस्तुगत कार्यसम्पादन मूल्यांकन प्रणालीमा सामेल हुन पनि तयार हुनुपर्नेछ।

रास्वपाले उम्मेदवार बन्न चाहनेहरूसँग आवश्यक कागजात र विवरणसमेत माग गरेको छ। त्यसमा अद्यावधिक सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र तथा आवश्यक शैक्षिक प्रमाणपत्रलगायतका कागजात पर्छन्। आवेदनमा पेस गरिएका शैक्षिक विवरण र प्रमाणपत्र सही रहेको स्वघोषणा पनि गर्नुपर्नेछ।

त्यस्तै वैवाहिक तथा पारिवारिक अवस्था कानुनी रूपमा स्पष्ट रहेको, घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार वा सार्वजनिक स्थलमा अमर्यादित व्यवहारमा संलग्न नरहेको तथा साइबर बुलिङ, चरित्रहत्या र अनलाइन ठगीजस्ता डिजिटल दुर्व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था छ। मिटरब्याज, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुन्डी वा सहकारीको बचत अपचलनजस्ता अनौपचारिक तथा अवैध आर्थिक कारोबारमा संलग्न नरहेको विवरण पनि खुलाउनुपर्नेछ।

उम्मेदवारी दिन चाहेको पालिका वा वडाभित्र सञ्चालन हुने विकास निर्माण, ठेक्कापट्टा, खरिद प्रक्रिया वा सार्वजनिक आपूर्तिमा आफू वा एकाघरको परिवारको व्यावसायिक संलग्नताबाट स्वार्थ बाझिने अवस्था भए वा नभएको खुलाउनुपर्नेछ। अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्य न्यायिक तथा अर्धन्यायिक निकायमा आफ्नो विरुद्ध फौजदारी, भ्रष्टाचार, ठगी वा गम्भीर प्रकृतिको देवानी मुद्दा विचाराधीन रहे वा नरहेको विवरण पनि पेस गर्नुपर्नेछ।

रूपरेखाले भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन, लागूऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, अपहरण तथा नैतिक पतन देखिने अन्य फौजदारी कसुरलगायतका मुद्दामा सजाय पाएका व्यक्तिका हकमा प्रचलित कानुनले तोकेको अयोग्यतासम्बन्धी व्यवस्था पनि समेटेको छ। सरकारी वा स्थानीय तहअन्तर्गत पारिश्रमिक पाउने पदमा बहाल रहेका व्यक्ति, कैदमा रहेका व्यक्ति तथा कानुनबमोजिम अयोग्य ठहरिएका व्यक्तिसमेत तोकिएका सर्तअनुसार उम्मेदवार बन्न नपाउने व्यवस्था छ।

क्यान्डिडेट क्लबमा आवेदन दिनु उम्मेदवारका रूपमा अन्तिम छनोट हुनु भने होइन। रूपरेखाअनुसार आवेदनपछि आकांक्षीहरूले नेतृत्व एकेडेमीको प्रशिक्षण, छनोट रूपरेखामा आधारित परीक्षण तथा अन्य मूल्यांकन प्रक्रियामा सहभागी हुनुपर्नेछ। पार्टीले स्थानीय आवश्यकता बुझ्ने, सुशासन र प्रभावकारी सेवा प्रवाहमा प्रतिबद्ध, नैतिक आचरणयुक्त तथा जनविश्वास र नेतृत्व क्षमता भएका व्यक्तिलाई उम्मेदवारका रूपमा अघि बढाउने लक्ष्य राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया