Online Bichar
सोमबार, आश्विन १९, २०८३ | Monday, October 5, 2026

काठमाडौं, १९ असोज २०८३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोसी प्रदेशको महिला (युवा) तर्फबाट केन्द्रीय सदस्य पदमा जेनजी उमेर समूहकी २२ वर्षीया रुबी सिटौलाले उमेदवारी घोषणा गरेकी छन् ।

झापाबाट कांग्रेसको राजनीतिक संस्कार, संघर्ष र संगठनसँग जोडिँदै आएको आफ्नो यात्रालाई अब राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको बताउँदै जेनजी उमेर समूहकी सिटौलाले उमेदवारी घोषणा गरेकी हुन् ।

उमेदवारी घोषणा गर्दै सिटौलाले भनिन्, “नयाँ अध्यायतर्फको यो यात्रामा स्पष्ट दृष्टिकोण र जिम्मेवारीबोधका साथ अघि बढेकी छु ।”

आफ्नो लक्ष्य केवल निर्वाचन जित्नु नभई त्यसपछि निर्माण हुने राजनीतिक यात्रालाई परिणाममुखी बनाउनका लागि रहेको बताइन् । बदलिँदो राजनीतिक, सामाजिक तथा आर्थिक परिवेशअनुसार कांग्रेसले नयाँ सोच र कार्यशैली विकास गर्नुपर्ने उनको धारणा छ ।

उनले कांग्रेसमा नयाँ आर्थिक सोच, प्रविधिमैत्री संगठन, अवसरमा समान पहुँच र राजनीतिक संस्थाप्रति पुनःविश्वास निर्माण आजको प्रमुख आवश्यकता भएको बताएकी छन् । सिटौलाले आफ्नो उमेदवारीलाई कुनै क्षणिक राजनीतिक लहर नभएर आगामी दशकको कांग्रेस कस्तो हुनुपर्छ भन्ने आफ्नो दृष्टिकोण समेत सार्वजनिक गरेकी छन् ।

महिलाको राजनीतिक सहभागिता केवल संख्यात्मक प्रतिनिधित्वमा सीमित नभई नीति निर्माणको केन्द्रमा महिलाको अनुभव र दृष्टिकोण पुग्नुपर्ने उनको भनाइ छ । यस्तै, युवालाई चुनावी भीड र नारामा मात्र सीमित नराखी संगठन निर्माण, नीति निर्माण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण भूमिका दिनुपर्ने समेत उनले बताएकी छन् ।

‘‘कांग्रेसको गौरवशाली इतिहासलाई सम्मान गर्दै त्यसलाई वर्तमान र भविष्य निर्माणका लागि उपयोग गर्नुपर्दछ,’’ रुबीको भनाइ छ, ‘‘नयाँ समयअनुकूल राजनीतिक अभ्यास र संगठन निर्माण आफ्नो प्राथमिकता हुने छ । राजनीतिमा आफ्नो उपस्थितिको कारण खोज्नेभन्दा उपस्थितिको अर्थ निर्माण गर्ने मेरो प्रतिबद्धता छ ।’’

झापा जिल्लाबाट कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा सुरु भएको आफ्नो राजनीतिक यात्रा कोसी प्रदेश हुँदै केन्द्रसम्म पुर्‍याउने लक्ष्य रहेको पनि उनले बताएकी छन् । आफ्नो उमेदवारीमार्फत महिला तथा युवाको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै कांग्रेसलाई नयाँ पुस्ताको अपेक्षा र बदलिँदो समयअनुकूल बनाउने संकल्पसमेत उनले व्यक्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया