Online Bichar
सोमबार, आश्विन १२, २०८३ | Monday, September 28, 2026

मोरङ, ११ असोज २०८३ । विराटनगर महानगरपालिका–४ पिपलचोकमा ग्यास लिक भएर आइतबार आगलागी हुँदा एउटै परिवारका दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ६४ वर्षीय शंकर कटेलले आफ्ना स्वर्गीय बुवाको सोह्र श्राद्धका लागि पिण्ड पकाउने क्रममा ग्यास लिक भएर अचानक आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीमा परेर शंकर र उनकी बुहारी ३५ वर्षीया रक्षा कटेल घाइते भएका छन् ।

शंकरको अनुहार, छाती र पेटमा आगोले पोलेको मोरङका प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । रक्षाको घाँटी तथा दुवै तिघ्रामा आगोले पोलेको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनाको कोशी अस्पताल विराटनगरमा सामान्य उपचार गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल रेफर गरिएको छ । घाइते दुवै जनाको अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया