झापा, ११ असोज २०८३ । झापामा एक भारतीय नागरिकले गैह्रकानुनी रुपमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलासा भएको छ । भारतको बिहार राज्यस्थित सुपौल जिल्ला मुरलीगंञ्ज बजार घर भएका अशोक शाहा नाम गरेका भारतीय नागरिकले झुटो विवरण बनाई जन्मको आधारमा नेपाली नागरिकता लिएका हुन् ।
शाहाले जन्मको आधारमा प्राप्त गरेको नागरिकताको आधारमा परिवारका अन्य ४ जनाको समेत वंशजको आधारमा नागरिकता बनाइदिएको पाइएको हो । घटना विवरण अनुसार शाहले २०६३ सालमा जिल्ला प्रशासन कार्यालयको टोलीले साबिकको अनारमनी गाविसमा नागरिकता बाढेको मौका छोपी नेपालमै जन्मिएको झुटो कागज बनाई टोलीलाई समेत झुक्क्याएर नेपाली नागरिकता लिएका हुन् ।
करिब ६० सालको अन्त्यतिर मात्रै नेपाल छिरेका शाहको शुरुमा सैनिक बजारमा रहेको महेन्द्रज्योती माध्यमिक विद्यालयका शिक्षक जयकुमार झा सँग चिनजान गर्छन् । पछि उनै शिक्षक झालाई प्रयोग गरी आफूले सोही महेन्द्रज्योती माध्यमिक विद्यालयमा अध्ययन गरेको कागजात बनाउँछन् ।
स्रोतका अनुसार शिक्षक झा सो समयमा गुपचुप रुपमा भारतीय जीवन बिमा कम्पनीमा एजेन्टका रुपमा काम गर्दथे । शाहाले बिहार स्थित परिवारका अन्य सदस्यको बिमा गरिदिने आश्वासन देखाएपछि झाले उनलाई आफूले अध्यापन गरिरहेको महेन्द्रज्योती माध्यमिक विद्यालयमा शाहाले पढेको कागजात बनाइदिएका हुन् ।
शाहले सोही कागजातको आधारमा आफू नेपालमै जन्मिएको भन्दै जन्मको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । शाहासँग अहिले जिल्ला प्रशासन कार्यालय झापाले २०६४ साल बैशाख २७ गते जारी गरेको ०४११२र०६६ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र रहेको छ ।
सो नागरिकतामा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सागर मिश्रले हस्ताक्षर गरेका छन् । शाहाको पुर्ख्यौली बिहारको मुरली बजारस्थित घरमा दुई भाइ र आमा रहेको बुझिएको छ । त्यहाँ उनको नाममा समेत प्रशस्त जग्गा जमिन रहेको श्रोतले बताएको छ ।
शाहाले ०६३ सालमा नागरिकता लिनुअघि बिर्तामोडको कृषि थोक रोडमा किराना पसल सञ्चालन गर्दै आएका थिए । त्यसको केही महिना पछि उनले अग्रसेन भवन पछाडि ९ धुर जग्गा समेत खरिद गरेर बिर्तामोडकै शाहा थरका एक व्यक्तिको नाममा राखेका थिए । तर, पछि नागरिकता लिएपछि सो जग्गा आफ्नै नाममा नामसारी गरेका थिए ।
शाहाका हाल श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । उनीहरू सबैले शाहाकै नागरिकतालाई टेकेर वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिई सकेका छन् ।
अहिले पनि शाहाले कृषि थोक आसपासमै किराना पसल सञ्चालन गर्दै आएका छन् । उनी बारीपारिको काम गर्छन् भने शाहाकी श्रीमतीले पसल सञ्चालन गर्दै आएकी छिन् । त्यस्तै शाहाका जेठा छोरा अमितले भने बिर्तामोडमै बसेर सट्टाबाजीको काम गराउँदै आएको प्रमाण फेला परेको छ ।
त्यस्तै कान्छा छोरा वैदेशिक रोजगारीमा गएको र छोरीको सुनसरी जिल्लामा विवाह भएको श्रोतले जानकारी दिएको छ । यता,गैह्रकानुनी रुपमा भारतीयलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाइदिने कार्यमा मुख्य रुपमा संलग्न भनिएका महेन्द्रज्योती माध्यमिक विद्यालयका शिक्षक जयकुमार झा सँग उनको मोवाएलमा पटक–पटक सम्पर्क गर्दा समेत तर्किएका छन् ।
त्यस्तै शाहाले समेत आफू बिमारी भएको भन्दै सो सम्बन्धमा कुनै जवाफ दिन मानेनन् । कानुनतः हुँदै नभएको झुटो विवरण बनाई नागरिकता प्राप्त गरेमा सो नागरिकता रद्द गरिने र संलग्नलाई ३ वर्ष सम्म कैद सजाय उल्लेख छ ।
त्यस्तै देवानी मुलुकी संहिता २०७४ को दफा ४३२ मा त्यसरी गैह्र नागरिकले नेपाल सरकारको पूर्व स्वीकृति नलिई नेपालभित्र कुनै चल–अचल सम्पत्ति जोडेमा त्यस्तो सबै सम्पत्ति नेपाल सरकारको हुने कानुनी व्यवस्था रहेको छ ।टाईम्स अफ प्रदेशबाट






