झापा, १० असोज २०८३ । झापाको गौरादहमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हिजो (शुक्रबार) बिहान ८ बजे गौरादह नगरपालिका-४ स्कुलचौनस्थित भित्री पक्की सडकखण्डमा तत्काल अल्फावेट नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ८१ वर्षीय लालबहादुर श्रेष्ठलाई ठक्कर दिएको थियो ।
बायाँ घुँडा र गोलीगाठोमा चोट लागेर गौरादह नगर अस्पताल गौरादहमा सामान्य उपचारपश्चात् उनलाई थप उपचारको लागि कोशी प्रादेशिक अस्पताल बिराटनगरमा लगिएको थियो ।
उपचारका क्रममा आज बिहान ६ बजे उनको मृत्यु भएको हो । ठक्कर दिएर फरार भएको मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






