काठमाडौं, १० असोज २०८३ । भ्रष्टाचारमा शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षणको बाटो खुलेको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ संशोधन गर्दै पोलिग्राफ परीक्षणको सुविधा अख्तियारलाई दिएको थियो ।
मन्त्रिपरिषद्बाट संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएसँगै अख्तियारलाई पोलिग्राफ परीक्षणको बाटो खुलेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पाँचौँ संशोधन नियमावली २०८३मा पोलिग्राफसम्बन्धी व्यवस्था गरिएको हो । नियमावलीको नियम १२ मा खण्ड ख थप्दै विवादास्पद सबुद प्रमाण वा व्यक्तिको परीक्षण गरिने व्यवस्था उल्लेख गरिएको छ ।
त्यसको उपनियम १ मा भ्रष्टाचार सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा संकलित नमुना, विवादास्पद कागज वा डिजिटल सबुद प्रमाण आयोगको फरेन्सिक इकाई वा प्रचलित कानुन बमोजिम स्थापित अन्य प्रयोगशालामा परीक्षण गर्ने भनिएको छ ।
उपनियम २ मा पोलिग्राफसम्बन्धी व्यवस्था गरिएको हो । ”भ्रष्टाचार सम्बन्धी कसुरको शंकित व्यक्तिको पोलिग्राफ परीक्षण गर्न आवश्यक भएमा उपनियम १ बमोजिमको फरेन्सिक इकाई वा प्रयोगशालामा परीक्षण गरिनेछ,” संशोधित नियमावलीमा उल्लेख छ ।
परीक्षणपछि प्राप्त प्रतिवेदन प्रमाणको लागि ग्राह्य हुने नियमावलीमा भनिएको छ ।






