सिमरा, २ असोज २०८३ । पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान बाराको पथलैयाबाट एक नाबालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाका १४ वर्षीय नाबालक रहेका छन्।
पीडित बालिकाको अभिभावकले प्रहरी समक्ष पुगेर घटनाबारे जानकारी गराएपछि नाबालक पक्राउ परेका हुन्। प्रहरी चौकी पथलैयाको प्रहरी टोली पुगेर नाबालकलाई घरबाटै पक्राउ गरेको हो। पक्राउ परेका नाबालकलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ। उनले आरोप स्वीकार समेत गरिसकेका छन्।
पीडित नाबालिका र आरोपित नाबालकलाई स्वास्थ्य परीक्षण तथा ओसीएमसीका लागि प्रादेशिक अस्पताल कलैया पठाउन लागिएको छ। स्वास्थ्य परीक्षण रिपोर्टपछि थप कारवाही प्रक्रिया अघि बढ्ने प्रहरीको भनाइ छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा एक नाबालक पक्राउ परेको पुष्टि गरेका छन्।
यसअघि पाँच वर्षीया नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराबाट बिहीबार राति ७५ वर्षीया हसन जान मियाँलाई पक्राउ गरेको थियो। पक्राउ परेका मियाँलाई पनि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर कारवाही प्रक्रिया अघि बढाइएको छ।






