Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

धर्वेन्द्र कुमार यादव
औरही, २९ फागुन । होली पर्वको आगमनसँगै महोत्तरी लगायत मिथिलाञ्चलको गाउँ गाउँमा गाइने जोगिरा एक प्रकारको परम्परागत गीत लोप हुँदै गएको छ ।

महोत्तरीको प्रत्येक गाउँको टोलटोलमा विगतका वर्षमा सुनिने जोगिरा अब सुनिन छोडिएको वृद्धहरुको भनाइ छ । पहिले पहिले गाउँका दलानमा डम्फु, झ्याली, हार्मोनियमको तालमा अबेर रातिसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धाको छुट्टाछुट्टै टोलीले समूह बनाई जोगिरा गाउने चलन थियो ।

डम्फुको तालमा गवैया मनोयोगका साथ जोगिराको माध्यमबाट देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, पे्रम–विछोड र हर्ष–विनोदका भाव गीतको माध्यमबाट प्रस्तुत गर्ने जोगिरा अहिले लोप हुँदै गएको छ । होली पर्वको आज आठ- नौ दिन बाँकी रहँदा पनि महोत्तरीका ५ गाउँपालिका र १० नगरपालिका मा कुनै गाउँ ठाउँमा यो वर्ष जोगिरा सुन्न नपाएको महोत्तरी जिल्लावासी बताउँछन् ।

मिथिलाञ्चलमा होली पर्वको अवसरमा गाइने जोगिरा संस्कृतिको जगेर्ना गर्ने र निरन्तरता दिने युवा औरही नगरपालिकाको खाँचो देखिएको औरही –२ का राजकिश्वोर यादवले बताउनुभयो । पहिला पहिला जोगिरा गाउन होलीको एक महिनापूर्व नै देश–परदेशमा रोजगारीमा गएका युवा, वयस्क आ–आफ्ना घर फर्केर आउँथे र होलीको अवसरमा एक महिनासम्म गाउँ गाउँमा अबेर रातिसम्म जोगिराले गाउँगाउँ गुञ्जायमान बनेको हुन्थ्यो तर अहिले ती सबै हराएर गएको बर्दिवास नगरपालिका वडा नम्बर ९ पशुपतिनगरका अमृत कुमार महतोले बताउनुहुन्छ ।जोगिराको अन्त्यसँगै सामाजिक सद्भाव पनि घट्दै गएको छ, अनि मिथिलाको मौलिक परम्पराका रुपमा रहेको फागु गीत पनि लोप हुन थालेको औरही गाउँका वृद्ध लखन यादवले बताउनुभयो । जोगिरा गाउने परम्परा संरक्षणको आवश्यकता रहेको बताउनुहुँदै वृद्ध ले अहिलेका युवामा आपसी सद्भाव, भाइचारा, बन्धुत्व र सामाजिक एकताको अभावमा यसको लोप हँुदै गएको निष्कर्ष निकालेका छन् ।

महोत्तरीपोस्टबाट शाभार

तपाईको प्रतिक्रिया