Online Bichar
सोमबार, भाद्र २२, २०८३ | Monday, September 7, 2026

काठमाडौं, २२ भदौ २०८३ । माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य प्रभावकारी रूपमा अघि बढाउन माग गर्दै पीडित आफन्तले प्रदर्शन गरेका छन् । चाँडोभन्दा चाँडो आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन माग गर्दै बेपत्ता व्यक्तिका आफन्तले सोमबार (भदौ २२) काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । मित्रराष्ट्रसँग सहयोग लिएर भए पनि उद्धार कार्य प्रभावकारी बनाउन उनीहरूको आग्रह छ ।

उक्त आयोजनास्थलबाट बेपत्ता भएका सुमेश अमात्यका दाइ रमेशले १३ दिन बितिसक्दा पनि उद्धार कार्यले गति लिन नसकेको गुनासो गरे । सरकारको ‘आँखा खुलाउन’ र छिटो उद्धारका निम्ति दबाब दिन धर्नासहित प्रदर्शन गर्नुपरेको उनले बताए ।

बाढी आएको समयमा क्याम्प भवनमा बैठक बसिरहेको र त्यो पुरिँदा करिब ४२ जना थुनिएको हुन सक्ने उनको भनाइ छ ।

पहिले लगिएको सानो एक्साभेटरले काम गर्न नसकेको उनले बताए । ठूलो एक्साभेटर ढुवानी गर्न सक्ने क्षमताको हेलिकोप्टर नहुँदा उद्धार रोकिएको उनले उल्लेख गरे ।

उनले ठूला हेलिकोप्टर र उपकरणका निम्ति भारत वा चीनजस्ता छिमेकी मुलुकहरूले सहयोग गर्ने तत्परता देखाउँदा पनि सरकारले समयमै पहल नगरेको बताए । तत्काल उच्च क्षमताका उपकरण ल्याएर उद्धार गर्न उनले माग गरे । हिमालयन टेली भ्वाइस

तपाईको प्रतिक्रिया