झापा, २१ भदौ २०८३ । झापाको अर्जुनधारामा स्कुटी र मोटरसाइकल एक आपसमा जुध्दा तीनजना घाइते भएका छन् । आज दिउँसो १ः४५ बजे अर्जुनधारा वडा नं.७ रमाइलो बस्तीस्थित शनिश्चरे –मदनपुर भित्री सडक खण्डमा शनिश्चरेबाट मदनपुरतर्फ जाँदै गरेको प्र.१–०१–०१४ प २०२९ नं. को स्कुटी र विपरित दिशावाट आउँदै गरेको मे ५ प ८३५ मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा स्कुटी चालक अर्जुनधारा वडा नं.१ मदनपुर बस्ने ३३ वर्षीय राजेन्द्र गौतम र सोही स्कुटीमा पछाडी सवार उनका हजुरबुवा ७९ वर्षीय नरेन्द्र गौतम घाइते भएका छन् । त्यस्तै मोटरसाइकल चालक विर्तामोड २ बस्ने २६ वर्षीय तुलसी चापागाँई पनि घाइते भएका छन् । घाइते तीनैजनाको शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको छ । दुवै सवारी साधन प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ ।






