Online Bichar
बिहिबार, भाद्र १८, २०८३ | Thursday, September 3, 2026

काठमाडौं, १८ भदौ २०८३ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहा औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसमेत गरी चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसियैत,तत्कालीन पशु शाखा प्रमुख पशु अधिकृत रमेश नारायण शर्मा,तत्कालीन लेखापाल आशिष कुमार कामली,औरही गाउँपालिका वडा नम्बर ४ का प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादवविरुद्ध विहीबार विशेष अदालतमा आरोप पत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

आयोगका अनुसार गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०८९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण साना व्यावसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम सञ्चालन गर्दा कृषक समूहसँग लागत सहभागितासहित सम्झौता गरेको थियो। उक्त सम्झौताअनुसार कार्य सम्पन्न नगरी भुक्तानी दिने क्रममा अनियमितता गरेको उनीहरूमाथि आरोप छ।

गाउँपालिकाबाट आर्थिक २०७८/०७९मा माछाको साना व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रमका लागि प्रगतिशील कृषक समूह र औरही गाउँपालिकाबीच १५ हजार रकममा तोकिएको मापदण्डअनुसार कार्य सम्पन्न गर्न सम्झौता भएको थियो।

तर, सम्झौताविपरीत किसानलाई सामग्री वितरण गर्नुपर्नेमा कम वितरण गरी पूरा काम भएको भनी झुट्टा बिल बनाइ ८ लाख २ हजार ८७८ रुपैयाँ बढी भुक्तानी लिनेरदिने काम गरेको देखिएको आयोगको दावी छ। उनीहरूविरुद्ध सोही रकम बराबरको विगो र सजायको माग गरिएको छ।

तपाईको प्रतिक्रिया