Online Bichar
बिहिबार, भाद्र १८, २०८३ | Thursday, September 3, 2026

काठमाडौं, १८ भदौ २०८३ । परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्दार गरिएको र अझै ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जानकारी दिए ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी (पूर्व र पश्चिम) सम्म ९ हजार तीन सय भन्दा बढी नेपाली सेनाका जनशक्ति उद्धार तथा खोजमा परिचालित रहेको उनले जानकारी दिए ।

उनले भारतीय टनेल उद्धार टोली नेपाली सेनासँग मिलेर आवश्यक उपकरणसहित खटिएको र चिलिमेतर्फ थप एक्स्काभेटर पठाउन लागिएको बताए। त्यस्तै लाङटाङतर्फ सेना र प्राविधिक टोलीले मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिम भागमा सानो प्वाल खोल्न सफल भएको उनले बताए ।

माथिल्लो त्रिशूली ३ ’ए’ मा चिनियाँ टनेल टोली र नेपाली सेनासहित कुल ९३ सदस्यीय संयुक्त टोली थप जनशक्ति र उपकरणसहित फिल्डमा खटिएको समेत मन्त्रालयले जनाएको छ । प्रवक्ता पौडेलले शवको पहिचानका लागि भारतबाट १९ सदस्यीय र चीनबाट ५ सदस्यीय विशेष फोरेन्सिक टोली कार्यक्षेत्रमा रहेको जानकारी दिए।

विपदपछि भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपेली युनियन, विश्व बैंक, एडीबी लगायतका दर्जनौँ मित्रराष्ट्र तथा दातृ निकायहरूले ऐक्यबद्धता र सहयोग जनाएको प्रवक्ता पौडेलले बताए । उनले केरुङबाट १४० जना नेपालीहरू तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेको र चिनियाँ सीमा क्षेत्रतर्फ अझै करिब १०० नेपाली बेपत्ता रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया