झापा, ५ भदौ २०८३ । वर्षायाम शुरु भएयता फैलिदै गएको जापानिज इन्सेफ्लाइटिस (जेई) बाट झापामा थप एकजनाको मृत्यु भएको छ ।
गत साता मेचीनगर-८ की ६४ वर्षीया महिलाको जेईबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै जिल्लामा जेईबाट मृत्यु हुनेहरुको संख्या ६ र संक्रमितहरुको संख्या ११ पुगेको छ । मृत्यु हुनेहरुमा चार महिला र दुई पुरुष छन् ।
हालसम्म मेचीनगरमा दुई तथा हल्दिवारी,बाह्रदशी , बिर्तामोड र अर्जुनधारामा एक–एक जनाको मृत्यु भएको हो । मेचीनगरका ५ , हल्दिवारीका १ , बाह्रदशीका १ , कचनकवलका १ , बिर्तामोडका २ र अर्जुनधाराका १ जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण देखा परेको हो । त्यसमध्ये ६जनाको मृत्यु भइसकेको ,दुईजना उपचारमा रहेको र तीनजना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
संक्रमितहरु अधिकांश ५० वर्ष माथिका छन् । संक्रमितमा एकजना बालक ७ महिनाका र एकजना ४० वर्ष उमेरको रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।






