काठमाडौँ, २ भदौ २०८३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि), व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै र परीक्षाको समयमा बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले ‘शिक्षा ऐन, २०२८’ अन्तर्गतको कसुरमा उक्त अभियोग पत्र दायर गरेको हो ।
यस प्रकरणमा मुख्य अभियुक्तको रूपमा भक्तपुरको मध्यपुर थिमि बस्ने ३३ वर्षीय सन्दीप सिंह रहेका छन् । सिंह काठमाडौँको बागबजारस्थित केएमसी कलेज र कोटेश्वरस्थित हिमालय कलेजमा वित्त विषयका शिक्षक हुन् ।
उनीसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रन्जु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ । अभियुक्तमध्ये कतिपय अझै फरार रहेका छन् ।
२०८३ साउन ६ गते सञ्चालित ‘म्यानेजमेन्ट-५१५ र साउन ८ गतेको ‘स्टाटिस्टिकल मेथड्स’ एमबीएस प्रथम सेमेष्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा छरपस्ट भएको थियो । ‘टीयू स्टुडेन्ट’ नामको फेसबुक ग्रुप र विभिन्न ह्वाट्सएप ग्रुपहरूमा ‘सुलभ सरु नामको आईडीबाट प्रश्नपत्रका फोटोहरू र उत्तरहरू समेत शेयर गरिएको फेला परेको थियो ।
प्रहरीसँग बयान दिने क्रममा विद्यार्थी अब्दुलले आफूले परीक्षा हलभित्र बसेरै प्रश्नपत्र ह्वाट्सएपमा पठाएको स्वीकारेका छन् । ‘परीक्षा हलमा बसेर एमबीएस फस्ट सेमेस्टर एक्जाम ग्रुप खोलेर हेर्दा सुलभ सर नामक प्रयोगकर्ताले ‘क्वोइसन पेपर ?’ भन्दै म्यासेज पठाएको देखेँ,’ सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा उनले भनेका छन्, ‘त्यसपछि प्रश्नपत्रको फोटो मैले नै मोबाइलबाट खिचेर ग्रुपमा पठाएको थिएँ ।’
आफूले फोटो पठाएको केही समयपछि अर्को प्रयोगकर्ताले समेत प्रश्नपत्र पठाएको उनले खुलाएका छन् । प्रहरीले यो घटनामा सुलभ सर भनिने सन्दीप सिंहलाई ९ साउनमै पक्राउ गरेको थियो । उनी विद्यार्थीलाई अनलाइनमार्फत तयारी कक्षासमेत लिँदै आएका थिए ।
विद्यार्थीलाई कोचिङ कक्षासँगै नोटसमेत दिने गरेको उनले बयानमा खुलाएका छन् । सार्वजनिक भएको ह्वाट्सएपको च्याट विवरणमा ‘सुलभ सर’ नाम भएका सिंहले पीडीएफ फाइल पठाएको देखिएको थियो । त्योसँगै ‘केशव भट्ट’ नामक विद्यार्थीले ‘सर, सोलुसन नि पठाइदिनु न’ भन्दै म्यासेज गरेको देखिएको थियो । सिंहले केही बेरमा ‘इको नि दिन्छु, राम्रोसँग हेर्नुहोला’ भनेका थिए । अर्का एकजना विद्यार्थीले ‘धन्यवाद’ दिँदै जागिर गर्नेहरूका लागि यो ‘बेस्ट ग्रुप’ भएको लेखेकी थिइन् ।
त्रिवि व्यवस्थापन संकायको उजुरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा शिक्षक सन्दीप सिंहले नै ‘सुलभ सरु को नामबाट ह्वाट्सएप ग्रुपहरू बनाएर करिब १ हजार विद्यार्थीलाई जोडेको र प्रश्नपत्र बाहिर पुर्याएको पुष्टि भएको छ ।
सिंहको साथबाट बरामद गरिएको एसर कम्पनीको ल्यापटप र सामसुङ मोबाइलको प्राविधिक परीक्षण गर्दा प्रश्नपत्रको फोटो खिचेर अपलोड गरेका प्रमाणहरू, च्याट हिस्ट्री र पीडीएफ फाइलहरू फेला परेका छन् ।






