Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २६ फागुन । बावुको पहिचान विनै जन्मिएका सन्तानले आमाको स्वःघोषणाका आधारमा पनि नागरिकता प्राप्त गर्ने व्यवस्था नागरिकतासम्बन्धी कानुनमा समेटिने भएको छ ।

नेपाली नागरिकता प्राप्तिका लागि अन्य मुलुकको नागरिकता छोड्नैपर्ने प्रावधान राखेर ल्याइएको नागरिकता विधेयकले गैरआवासीय नेपालीलाई भने राजनीतिकबाहेकका अन्य अधिकार प्रयोग गर्ने गरी नागरिकता दिने व्यवस्था गर्न लागिएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा दफावार छलफल सक्दै पारित भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकले नागरिकतासम्बन्धी थुप्रै नयाँ प्रावधान समेटेको छ ।

संविधानले दिएका अधिकार समेट्दै नागरिकता ऐन संशोधन गर्दै समितिबाट पारित प्रतिवेदनमा महिलालाई विशेष अधिकार दिइएको छ । अब नागरिकता बनाउन बाबुको पहिचान भइरहनु पर्दैन ।

आमाको स्वघोषणका आधारमा पनि नागरिकता पाउने व्यवस्था छ । संसोधित विधेयकमा नागरिकता प्राप्त गर्न दिनुपर्ने निवेदन मा ‘बाबु वा आमा वा आफ्नो वंशजतर्फको तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र ।

तर, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाको हकमा पतिको देशको नागरिकता नलिएको वा त्यागेको प्रमाण’ भनिएको छ ।

त्यस्तै दोस्रो बुँदामा ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचाहन हुन नसकेको व्यक्तिका हकमा निजको बाबुको पहिचान हुन नसकेको पुष्ट्याईंसहित निज वा निजको आमाले गरेको स्वघोषण’ लाई आधार मान्ने भनिएको छ ।

तर कुनै विदेशी पुरुषसँग विवाह गरेर जन्मेको बच्चा ढाँटेर बाबु छैन भनिएको भए त्यो प्रमाणीत भएको अवस्थामा बाबुको देशको नागरिकता नलिएको वा त्यागेको भए त्यस्तो नागरिकता अंगिकृत हुने उल्लेख छ । यसअघि आमाको स्वघोषणको आधारमा नागरिकता पाउने व्यवस्था थिएन ।

नागरिकता ऐनले २०७२ साल असोज ३ गते अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तान बालिग भएपछि वंशजका आधारमा नेपालको नागरिक हुने व्यवस्था गरेको छ । ऐनले गैरआवासीय नेपालीलाई पनि नागरिकता दिने व्यवस्था गरेको छ ।

‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेका र साविकमा बंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकार बाहेक आर्थिक, सामजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ’ भन्ने उल्लेख छ ।

नागरिकता विधेयकले नेपाली पुरुषसँग विवाह गर्ने महिलाले नेपाली नागरिकता लिन पहिलाको देशको नागरिकता छोड्नै पर्ने व्यवस्था गरेको छ ।

यसअघिको ऐनमा छोड्ने प्रक्रियाको निस्सा देखाएर नागरिकता लिने र दुवै देशको नागरिकता लिएर बस्नेको संख्या धेरै भएपछि अहिलेको ऐनमा पहिलाको देशको नागरिकता त्यागेको निस्सा ६ महिनाभित्र पेश गर्नुपर्ने अन्यथा नेपाली नागरिकता स्वतः रद्द हुने व्यवस्था गरिएको हो ।

त्यस्तै नेपाली नागरिकसँग विवाह गरी नेपाली महिलाबाट जन्मिएको व्यक्तिका हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताका आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिए बमोजिम अंगिकृत नागरिकता प्रदान गरिने उल्लेख छ ।

तर त्यसरी जन्मिएको व्यक्तिले नागरिकता लिने बखत उसका बाबु आमा दुवै नेपाली भए उसले बंशजका अधारमा नै नागरिकता पाउने उल्लेख छ ।

नागरिकता विधेयकले नेपालभित्र फेला परेका बाबु आमा नखुलेका नाबालक बंशजका नाताले नेपालको नागरिक हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

अंगिकृत नागरिकता पाउन आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपालमा जन्म भई स्थायी बसोबास गरेको ब्यहोरा खुल्ने सम्बन्धीत गाउँपालिका वा नगरपालिकाको सिफारिस र बाबुको नागरिकताका आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको निस्सासहितको कागजात हुनुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया