Online Bichar
बिहिबार, साउन ०७, २०८३ | Thursday, July 23, 2026

पाल्पा, ७ साउन २०८३ । पाल्पामा विद्यालयमै ग्यासको पाइप फुस्किएर आगो लाग्दा एक बालिका घाइते भएकी छन् । तानसेन नगरपालिका–४ सिल्खानटोलस्थित मिलिनियम माध्यमिक विद्यालयमा बिहीबार दिउँसो सो घटना भएको हो ।

विद्यालयको भान्साकोठामा खाना खाइरहेका बेला अचानक ग्यासको पाइप फुस्किएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत ८ वर्षीया साजुदा बानु घाइते भएकी हुन् । आगलागीबाट साजुदाको अनुहार, दुवै हात, छातीको दाहिने भाग तथा कम्मरदेखि पैतालासम्मको भाग जलेको छ ।

​जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार साजुदाको शरीरको करिब ३५ प्रतिशत भाग जलेको छ ।

घटनापछि उनलाई तत्कालै उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।

त्यसपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको पारिवारिकस्रोतले जनाएको छ । उनीसँगै अन्य दुई जना विद्यार्थीलाई पनि आगोको झिल्काले असर गरेको बताइएको छ । तर, उनीहरूको अवस्था भने सामान्य छ ।

तपाईको प्रतिक्रिया