Online Bichar
बिहिबार, साउन ०७, २०८३ | Thursday, July 23, 2026

काठमाडौं, ७ साउन २०८३ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट हुने अदुवा निर्यातमा ऐतिहासिक वृद्धि रेकर्ड गरिएको छ ।

अघिल्लो आव २०८१/८२ को तुलनामा गत वर्ष अदुवा निर्यात परिमाण र आम्दानी दुवैमा उच्च वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

अघिल्लो आव कुल ५८ करोड ३६ लाख १० हजार रुपैयाँ बराबरको अदुवा निर्यात भएकोमा गत आव २०८२/८३ मा भने त्यो आँकडा ह्वात्तै बढेर १ अर्ब ५० करोड २० लाख ७३ हजार रुपैयाँ बराबर पुगेको छ ।

नेपालबाट मुख्यतया ताजा अदुवा, सुठो र धुलो (कुटिएको) गरी तीन प्रकारका निर्यात हुने गरेको छ । आव २०८२/८३ को तथ्यांक हेर्दा सबैभन्दा धेरै ताजा अदुवा निर्यात भएको छ ।

यस अवधिमा १ करोड ६० लाख १६ हजार ७ सय ४५ किलो ताजा अदुवा निर्यात भएको छ, यसबाट १ अर्ब २ करोड ६९ लाख २ हजार रुपैयाँ आम्दानी भएको छ ।

त्यसैगरी ७ लाख ३५ हजार ६ सय १३ किलो सुठो निर्यात हुँदा ३७ करोड ५१ लाख ८८ हजार भित्रिएको छ भने ५ लाख १ हजार ६ सय ४२ किलो कुटिएको वा धुलो अदुवा निर्यातबाट ९ करोड ९९ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको छ ।

गन्तव्य मुलुकको कुरा गर्दा नेपाली अदुवा ७ देश पुगेको छ । जसमा भारत, बंगलादेश, जापान, जर्मनी, नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स ९यूएई० र अस्ट्रेलिया छन् ।

ताजा अदुवाको सबैभन्दा ठूलो बजार भारत हो, जहाँ १ अर्ब ७४ लाख रुपैयाँभन्दा बढीको ताजा अदुवा गएको छ भने बंगलादेश र जापानमा पनि यसको निर्यात भएको छ ।

सुठोको मुख्य बजार भने युरोपेली देश जर्मनी देखिएको छ, जहाँ ३० करोड ७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यस अतिरिक्त सुठो भारत, बंगलादेश, नेदरल्यान्ड्स र यूएईसम्म पुगेको छ । कुटिएको अदुवा भने भारत र अस्ट्रेलियामा निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आव २०८१र८२ मा नेपालको अदुवा भारत, जापान, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड र जर्मनी गरी ५ देशमा मात्र सीमित थियो ।

तर, एक वर्ष अन्तरालमै नेपाली अदुवाले बंगलादेश, अस्ट्रेलिया र यूएई जस्ता नयाँ र महत्त्वपूर्ण बजारमा आफ्नो बलियो उपस्थिति जनाउन सफल भएको छ ।

तपाईको प्रतिक्रिया