चेतना शर्मा

अनलाइन बिचार, २४ फागुन । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक तथा अन्य अधिकारमा महिला भएकै कारणले भेदभाव गरिनु हुँदैन भन्ने मान्यतामा नारी दिवस मनाइन्छ । राज्यका सबै संरचनामा महिला र पुरुषबीच सन्तुलितरूपमा समान हिस्सेदारी हुनुपर्ने र महिला हिंसाविरुद्ध सरोकारवाला निकायलाई झकझक्याउने दिनका रूपमा पनि अन्तर्राष्ट्रिय महिला दिवसलाई लिइएको हुन्छ । ऐतिहासिक परिदृश्यमा महिलाका क्रियाकलापलाई मान्यता दिने, महिला अधिकार प्राप्तिका सन्दर्भमा पनि नारी दिवसको भूमिका महत्त्वपूर्ण छ । नारीलाई नारीकै आँखाले हेरिनु र नारी अस्तित्वको सम्मान गरिनु पर्ने सन्देश पनि बोकेर नारी दिवस मनाइन्छ ।

देशको सामाजिक, आर्थिक तथा राजनीतिक परिवेशअनुसार विश्वका महिला कुनै न कुनै रूपमा लैगिंक विभेदमा परेका छन् । महिलाले भोगिरहेका पीडाको सम्बोधन हुनुपर्ने र लैंगिक विभेद न्यूनीकरण र महिला अधिकारको मागसहित एकजुट भएका संसारभरका महिलाको आवाजमा यस दिन ऐक्यबद्धता रहन्छ । महिलाका अधिकारका लागि दबाब सृजना गर्ने दिन भए पनि प्रत्येक महिलाले आफ्नो अस्तित्वमाथि गर्व गरेर हेर्नसक्नु पर्छ भन्ने आशय पनि यस दिनले बोकेको हुन्छ । त्यसैले विगत केही समय यता यस दिनलाई संसार भरका महिलाद्वारा उत्सवका रूपमा पनि मनाइँदै आइएको छ ।

नेपालमा पनि प्रत्येक वर्ष नारी दिवसका दिन विभिन्न कार्यक्रम सञ्चालन गरिन्छ । सरकारी निकाय, गैरसरकारी निकाय तथा विभिन्न सरोकारवाला निकाय तथा व्यक्तिको आबद्धतामा उत्साहजनकरूपमा झोले गोष्ठीदेखि लिएर ठूला ठूला तारे होटलमा कार्यक्रम संचालन गरी नारी दिवस भव्यरूपमा सफल भएको उद्घोष गरिन्छ । महिलाले भोगेका हिंसा र त्रासदीलाई तारे होटलमा र ठूलाठूला ब्यानर लिएर नगर परिक्रमा गरेरमात्र कति परिवर्तन होला ? तैपनि, यसलाई एकप्रकारको उपलब्धि नै मान्नुपर्छ ।

वास्तविकताको धरातलमा उभिएर महिलाका आँखाले महिला भएर महिलालाई हेर्दा हाम्रो समाजमा भएका कतिपय दर्दनाक घटनाले सम्झाएका प्रश्न यसपटकको नारी दिवसमा अनुत्तरित नै छन् । त्यसैले यस नारी दिवसमा महिला हिंसाविरुद्ध दबाब सृजना गर्न आवश्यक केही घटनालाई सबैले सम्झनु नै पर्ने हुन्छ ।

आजका दिनसम्म न्याय पाउन असफल निर्मला पन्त बलात्कारपछिको हत्याकाण्डले यस घटनाका पीडकलाई न्यायको कठघराका उभ्याउन अक्षम भएको सरकार र मुलुकको न्याय व्यवस्थामा ठूलो प्रश्न चिन्ह तेर्सिएकोे छ । अर्कातर्फ यस घटनापछिका क्रियाकलापले राज्यको दण्डहीनता जगजाहेर हुनुका साथै पूरै राज्य संयन्त्र अपराधी जोगाउन लागि कसरी होमिँदोरहेछ छ भन्ने पोल पनि खुलेको छ ।

समाजमा महिलामाथि हुने लैगिक हिंसामा प्रमुख जघन्य अपराध बलात्कार हो । यसको जति भत्र्सना गरे पनि कम हुन्छ । यस्ता हिंसाले परिवारमा कहिल्यै सञ्चो नहुने बज्रपात सहन बाध्य गरेको हुन्छ । यस्ता घटना हुनुमा विद्यमान सामाजिक संरचना र महिलामाथि गरिने व्यवहारमात्र जिम्मेवार नभई मुलुकमा कानुनी शासनको अवस्था र न्यायप्रणालीबाट सर्वसाधारणले न्याय पाउन नसक्नु पनि हो ।

नेपाली महिला विभिन्न प्रकारका सामाजिक र लंैगिक विभेदको दोहोरो मारमा परेका छन् । उनीहरू कानुनी शासनको प्रभावहीनताको असरलाई झेलिरहेका छन् । त्यसैले मुलुकमा ससाना बालिकादेखि लिएर सबै उमेरका महिला बलात्कारको जोखिम र त्रासबाट उम्किन सकिरहेका देखिँदैनन् । पूरै मुलुक निर्मला हत्याकाण्डविरुद्धमा उभिएको समयमा समेत देशका विभिन्न स्थानमा त्यस्तै प्रकृतिका घटना दोहोरिनुले यसलाई थप स्पष्ट पारेको छ ।

मुलुकमा हुने गरेका बलात्कारका घटनामा प्रमुखरूपमा गरिब र सीमान्तकृत समुदाय पीडित भएको विभिन्न तथ्यांकबाट देखिन्छ । लोकतन्त्रको जति ठूलो बिगुल फुके पनि यस्ता वर्गका लागि शासन व्यवस्थामा कुनै फरक देखिएको छैन भन्ने प्रकाशमा आइरहेका घटनाले स्पष्ट पारेको छ । छोरी रहेका प्रत्येक घर छोरी जोगाउने चिन्ताले ग्रस्त छ ।

त्यस्तै छाउपडी प्रथाका कारण केही समयअघि बाजुरामा गरिब परिवारकी महिलाले जलेर अकालमै दुई बालकसहित ज्यान गुमाउनु परेको घटना सामाजिक कुसंस्कार र अन्धविश्वासले निम्त्याएको महिलामाथि हुने जघन्य अपराध सम्झाउने अर्को घटना होे । यस्तो दर्दनाक घटना र छाउपडीका अन्य घटनाले देशमा विद्यमान कुप्रथामा महिलाहरु निरन्तर पिल्सिरहेका नै छन् भन्ने देखाउँछन् । छाउपडी प्रथाकै कारणले मात्र पनि मुलुकमा कैयौं महिलाले ज्यान गुमाएका र छाउगोठमा बलात्कार भएका घटना नयाँ हैनन् । धार्मिक कुरीति र अन्धविश्वास निकै गाडिएर बसेको समाजमा यसविरुद्ध गरिएका उपाय प्रभावकारी हुन किन सकिरहेका छैनन् ? छाउपडी गोठ कैयाैं महिलाका लागि यमराज साबित भएको छ ।

कुरीतिको सिकार हुनबाट अन्य महिलाहरुलाई जोगाउन कस्ता उपाय अपनाउनु आवश्यक छ भन्ने खोजी गरिनु आवश्यक छ । कसैले छाउपडी प्रथा मान्न बाध्य पारेमा तीन महिनासम्म कैद, तीन हजार रुपैयाँ जरिवाना वा दुवै हुने व्यवस्थाको व्यावहारिक रूपमा अवलम्बन र प्रयोग गराउन पीडित पक्षलेसमेतले तदारुकता देखाउने गरेका हुँदैनन् । पीडितहरू राज्य संयन्त्रप्रति विश्वस्त हुन नसक्नु नै यसको एउटा मुख्य कारण मान्न सकिन्छ ।

बोक्सीका नाममा पति, घर परिवार र समाजबाट मरणासन्न हुनेगरी पिटिएर प्रकाशमा आएका विभिन्न घटनाले हाम्रो समाजका महिलाले भोगिरहेको त्रासद अवस्था उजागर गरेको छ । यस्ता घटनाहरु पटकपटक भई नै रहेका छन् ।

महिलामाथि वस्तुसरह व्यवहार भइरहेका त दाइजो नल्याएको निहुँमा अमानवीय व्यवहार सहन र जल्न बाध्य बनाइएका कतिपय घटनाले स्पष्ट पारिरहेको छ । महिलालाई सधैँ आफ्ना आकाक्षां परिपूर्ति गर्ने माध्यम बनाइन्छ । छोरी भएकै कारण गर्भपतन गरिने घटना, महिला भएकै कारण घरेलु हिंसाका रूपमा पाउने शारीरिक, मानसिक यातनाको त कुनै लेखाजोखा नै गर्न सकिँदैन ।

एकातर्फ महिला र पुरुषलाई समान दर्जा दिने अभिप्रायले संविधानमा महिलाका कतिपय हक सुरक्षित गरिएको छ । त्यसैअनुरूप कानुन पनि निर्माण गरिएका छन् र कति बन्ने क्रममा पनि छन् । अर्कातफा भने महिला हिंसाका घटनामा भएको वृद्धिले महिलाप्रति समाज र राज्यले गर्ने परस्पर विरोधी दोहोरो व्यवहारमा कमी नभएको देखिएको छ । त्यसैले सबै प्रकारका लैंगिक हिंसाविरुद्ध आआफ्नो तर्फबाट सक्दो प्रयास गर्नु आवश्यक छ । नारी दिवसलाई थप प्रभावकारी बनाउन महिला हिंसाका यस्ता कतिपय विषयको सम्बोधनका लागि पहल गर्नु वर्तमान समयको माग बनेको छ ।

१२खरीबाट

तपाईको प्रतिक्रिया

Comments