मोरङ, ५ साउन २०८३ । मोरङको सुन्दरहरैँचा नगरपालिका– १० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सोही विद्यालयका शिक्षकहरूले दुर्व्यवहार गरेको घटना सम्बन्धमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
अनुसन्धानका क्रममा झापा जिल्ला बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ बस्ने ३९ वर्षीय नृत्य प्रशिक्षक भीमप्रसाद नेपाललाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नियन्त्रणमा लिइएका नेपालमाथि थप अनुसन्धान कार्य भइरहेको छ।
यसअघि छात्रालाई अश्लील म्यासेज पठाएको आरोपमा तीन जना पक्राउ परेका थिए । उक्त विद्यालयका विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेपछि उनीहरू पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका वडा नं. १० बस्ने सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, सोही नगरपालिका वडा नं. २ बस्ने शिक्षकद्वय ३० वर्षीय किशोरलाल गच्छदार र वडा नं. १२ बस्ने ३५ वर्षीय अविरल मास्के रहेका छन् ।






