Online Bichar
बिहिबार, आषाढ ३२, २०८३ | Thursday, July 16, 2026

झापा, ३१ असार २०८३ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार दिउँसो करिब ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका तीन जनालाई शंका लागेर जाँच गर्दा लागू औषध बरामद गरेको हो।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–१ का ३० वर्षीय मो. सदाम हुसेन, भारतको बिहार राज्य किशनगञ्ज जिल्लास्थित दोहाबारी पनासिहाट स्थायी घर भई हाल बिर्तामोड–५ बस्दै आएका १९ वर्षीय मुबारक अली, तथा इलामको फाकफोकथुम गाउँपालिका–३ का ४१ वर्षीय रमेश थेगिम रहेका छन्।

प्रहरीका अनुसार सदाम हुसेन र मुबारक अलीको साथबाट प्लास्टिकसहित ४ ग्राम ४७० मिलिग्राम (प्लास्टिकबाहेक ३ ग्राम २८० मिलिग्राम) खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको छ। त्यसैगरी रमेश थेगिमको साथबाट प्लास्टिकसहित ३ ग्राम ४४० मिलिग्राम (प्लास्टिकबाहेक २ ग्राम ८०० मिलिग्राम) खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागू औषधको कुल परिमाण प्लास्टिकसहित ७ ग्राम ९१० मिलिग्राम तथा प्लास्टिकबाहेक ६ ग्राम ८० मिलिग्राम रहेको छ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया