काठमाडौँ, ३० असार २०८३ । मलेसियास्थित नेपाली राजदूतावासले रोजगारीका सिलसिलामा मलेसियामा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आफ्नो राहदानी सधैं आफैँसँग राख्न विशेष आग्रह गरेको छ।
दूतावासले आज जारी गरेको विज्ञप्तिमा मलेसियाको प्रचलित कानुन तथा नियमको पालना गर्दै सुरक्षित रूपमा बसोबास गर्न र यात्रा गर्दा राहदानी सधैं साथमै राख्न अनुरोध गरिएको छ।
विज्ञप्तिमा नेपाली श्रमिकलाई रोजगारी प्रदान गर्ने मलेसियाका सबै रोजगारदातालाई पनि आफ्ना कामदारले राहदानी आफूसँग राख्न पाउने व्यवस्था सुनिश्चित गर्न आग्रह गरिएको छ। कानुनले अनुमति दिएको अवस्था र सम्बन्धित श्रमिकको स्पष्ट सहमति नभएसम्म नेपाली श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा नराख्न दूतावासले रोजगारदातालाई सचेत गराएको छ।
यदि कुनै नेपाली नागरिकको राहदानी उनको सहमतिविना रोजगारदाता वा अन्य कुनै पक्षले जबरजस्ती आफ्नो नियन्त्रणमा राखेको भए तत्काल दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
दूतावासले मलेसियाको कानुनको पालना गर्दै नेपाली श्रमिकको अधिकार, सम्मान र कल्याणको संरक्षणमा सहयोग पुर्याउने सबै रोजगारदाता तथा नेपाली नागरिकप्रति आभार समेत व्यक्त गरेको छ।






