झापा, २३ असार २०८३ । मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने क्रम बढेपछि झापामा ट्राफिक प्रहरीले चेकजाँच अभियानलाई कडाइका साथ जारी राखेको छ ।
बिर्तामोड– ६ मा आज सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँच अभियानमा २०९ सवारी साधनका चालकहरुलाई परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा ५ जना चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि भएको छ।त्यसमध्ये एकजनाले मादक पदार्थ पनि सेवन गरेका थिए ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा पठाइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको समन्वय, इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड नगरपालिका, यातायात व्यवस्था कार्यालय बिर्तामोड झापासंगको सहकार्य तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा चेकजाँच गरिएको थियो । सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गराई प्रभावकारी ट्राफिक व्यवस्थापनको निमित्त भाडामा चल्ने चार पांग्रे, तीन पांग्रे सवारी साधनका चालक तथा सह–चालकहरुको लागूपदार्थ सेवन, मादक पदार्थ सेवन तथा सवारी साधनहरुको यान्त्रिक चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए ।
यसअघि गत साता झापामा मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने ७ जना चालक पक्राउ परेका थिए ।
बुद्धशान्ति गाउँपालिका वडा नं.३ स्थित मेची राजमार्गको कालीखोलामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय बुधबारे, ट्राफिक प्रहरी पोष्ट बुधबारे, महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारे झापाको संयुक्त सहकार्यमा लागूपदार्थ र मादक पदार्थ सेवन चेकजाँच गरिएको थियो ।
दुई पांग्रे, चार पांग्रे, ट्याक्टरका गरी २ सय सवारी साधनका चालकहरुलाई ब्रेथलाईजरद्वारा चेकजाँच गर्दा ५ जना चालकहरुले मादक पदार्थ सेवन गरेको पाइएको थियो । त्यस्तै शंका लागेका २९ जना चालकहरुको लागूपदार्थ सेवन किटमार्फत चेकजाँच गर्दा दुईजना चालकहरुले लागूऔषध सेवन गरेको पाइएको थियो ।






