काठमाडौं, २२ असार २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानमा पार्टी सभापतिले दिएको निर्देशन अवज्ञा गरेमा संसदीय दलको नेता हटाउनसक्ने प्रावधान राखिएको छ ।
पार्टी सभापतिको काम, कर्तव्य र अधिकारमा ‘संसदीय दलसँग समन्वय’ लाई वैचारिक तथा राजनीतिक नेतृत्वअन्तर्गत समावेश गरिएको छ । रास्वपाको संसदीय दलको नेतामा प्रधानमन्त्री बालेन्द्र शाह छन् ।
पार्टीले संसदीय दलसँग समन्वय गर्ने अधिकार सभापतिलाई दिइएको छ । त्यस पार्टी सभापति संसदीय दलको नेता नरहेको अवस्थामा संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोण प्रभावकारी प्रतिनिधित्व तथा कार्यान्वयनका लागि संसदीय दललाई आवश्यक मार्गनिर्देशन प्रदान गर्ने कार्य सभापतिको अधिकार तोकिएको छ ।
सभापतिले दिएको मार्गनिर्देशनको पालना संसदीय दल, संसदीय दलको नेता तथा सदस्यहरुको अनिवार्य कर्तव्य हुने विधानमा उल्लेख गरिएको छ ।
विधानको यो व्यवस्था अनुसार सभापतिले दिएका निर्देशन संसदीय दलका नेता रहेका प्रधानमन्त्री बालेनसहित सबै रास्वपा सांसदले पालना गर्नुपर्दछ । सभापतिले दिएको निर्देशन पालना नगरे पदमुक्त गर्नसक्ने व्यवस्था विधानमा राखिएको छ ।
सभापतिलाई दिइएको यो अधिकार अनुसार उनले संसदीय दलको नेतालाई पदमुक्त गर्न सकिने व्यवस्था विधानको दफा ६८ (१–ङ) मा राखिएको छ ।
संसदीय दलको नेतालाई पदमुक्त गर्न सकिने विधानको व्यवस्थामा भनिएको छ, ‘यस विधानको ११(क) को ३ अनुुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा ।’ विधानको ११ (क) को ३ संसदीय दललाई सभपतिले नीतिगन मार्गनिर्देशन दिने व्यवस्था छ ।
विधानको उक्त विधि उल्लंघन गरे सभापतिले संसदीय दलको नेता हटाउन सकिने गरी प्रावधान राखिएको छ । विधानको यो व्यवस्था अनुसार सभापति रवि लामिछानेले दिएको नीतिगत निर्देशन संसदीय दल, संसदीय दलको नेता, सांसदहरू अनिवार्य पालना नगरेमा उनले पदमुक्त गर्नसक्ने छन् ।






