Online Bichar
सोमबार, आषाढ १५, २०८३ | Monday, June 29, 2026

काठमाडौं, १५ असार २०८३ । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना देशभरका १४९ वटा शाखा बन्द गरेका छन् । खासगरी वाणिज्य बैंक तथा विकास बैंकहरूले महानगरपालिकाभित्र रहेका धेरै शाखा बन्द गरेको तथ्यांकले देखाएको छ । शाखा बन्द गरे पनि बैंकहरूले कर्मचारी कटौती गर्न भने पाउँदैनन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत महानगरपालिकाभित्र धेरै शाखा रहेको अवस्थामा स्वयमले निर्णय गरी गाभ्न वा एकीकरण गर्न पाउने व्यवस्था गरेको थियो ।

मौद्रिक नीतिको सो व्यवस्थापछि केन्द्रीय बैंकले २०८२ मंसिर २९ गते निर्देशन जारी गर्दै कर्मचारी कटौती नगरी वा अनावश्यक दुःख नदिई शाखा एकीकरण गर्न सक्ने व्यवस्था गर्‍यो । सो अनुसार काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, वीरगन्ज र भरतपुर महानगरपालिमा रहेका ७ वाणिज्य बैंक र ३ विकास बैंकका ११८ शाखा गाभिएका छन् । तर, चालु आर्थिक वर्षको वैशाखसम्ममा भने बैंक वित्तीय संस्थाका १४९ शाखा घटेका छन् ।

वित्तीय कारोबारमा डिजिटलको प्रयोग बढेकाले महानगरपालिकाभित्र धेरै संख्यामा शाखा भएका बैंक तथा वित्तीय संस्थालाई समायोजनको नीति ल्याइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले बताए । ‘केन्द्रीय बैंकको शाखा समायोजन नीतिपछि १० बैंक तथा वित्तीय संस्थाका ११८ शाखा एकीकरण भएका छन्,’ पौडेलले भने, ‘डिजिटल कारोबार धेरै हुने ठाउँमा बैंक तथा वित्तीय संस्थाले आवश्यकता र औचित्यको आधारमा मात्रै शाखा राखेका छन् ।’

चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकका १४१ वटा शाखा कार्यलय बन्द
बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन गर्दा ग्राहकले पाइरहेको सुविधामा कटौती हुन नहुने र कर्मचारी पनि कटौती गर्न नपाइने शर्तमा मात्रै समायोजना गर्न सकिने उनले स्पष्ट पारे । ‘कर्मचारी हटाउन नपाइने, साथै हटाउने मनसाय राखेर अपायक स्थानमा सरुवा गर्न पाइने छैन,’ उनले भने, ‘हालसम्म भएका शाखा समायोजनमा ती विषयमा गुनासो आएको छैन ।’

शाखा बन्द गरेपछि कर्मचारीलाई विकट क्षेत्रमा सरुवा गरेर असुविधामा पार्न नपाइने पनि प्रवक्ता पौडेलले बताए । त्यसरी अपायक सरुवा गरेर छोड्न बाध्य बनाएमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने उनको भनाइ छ । त्यसका लागि कर्मचारी स्वयमले केन्द्रीय बैंकमा उजुरी गर्न सक्ने उनले बताए ।

केन्द्रीय बैंकको समायोजन नीतिअघि पनि बैंक वित्तीय संस्थाका शाखा घटेका थिए । चालु आर्थिक वर्षको १० महिनासम्म वाणिज्य बैंकका १४१ वटा शाखा कार्यलय बन्द भएका छन् भने विकास बैंकका १५ वटा शाखा कार्यालय घटेको केन्द्रीय बैंकले जनाएको छ ।

तर, यो अवधिमा फाइनान्स कम्पनीका भने २ शाखा कार्यालय थप भएको केन्द्रीय बैंकको तथ्याङकले देखाएको छ । शाखा समायोजन नीतिसँगै मर्जरमा गाएका संस्थाले पनि शाखा समायोजन गर्दा संख्या घटेको पौडेलको भनाइ छ ।

शाखा समायोजनको नीति केन्द्रीय बैंकले उपयुक्त समयमा ल्याएको एक बैंकरले बताए । ‘ग्राहक वित्तीय कारोबारका लागि बैंकका कार्यालय आउनै छाडेको अवस्था छ,’ ती बैंकरले भने, ‘यस्तो अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढेको थियो ।’ केन्द्रीय बैंकको यो व्यवस्थाले बैंकहरुको खर्च पनि कम हुने र डिजिटल कारोबार थप बढ्ने उनको बुझाइ छ ।

केन्द्रीय बैंकको शाखा समायोजन नीति पछि एनआईसी एसिया बैंकले सबैभन्दा धेरै ४४ वटा शाखा बन्द गरेको छ । त्यसैगरी कुमारी बैंकले २४ र नपाल इन्भेस्टमेन्ट मेगा बैंकले १८ शाखा समायोजन गरेका छन् ।अनलाइनखबरबाट

 

पछिल्लो ६ महिनामा महानगरपालिकाभित्र धेरै शाखा भएकाले प्रभु बैंकले १२ वटा समायोजन गरेको छ । त्यसैगरी एभरेस्ट बैंकले १, प्राइम कमर्सियल बैंकले ७, एनएमबी बैंकले ४ वटा शाखा गाभेका छन् । सो अवधिमा महानगरपालिकाभित्र धेरै शाखा भएका कारण महालक्ष्मी विकास बैंकले ४, मुक्तिनाथ विकास बैंकले २ र सप्तकोशी विकास बैंकले २ शाखा समायोजन गरेको केन्द्रीय बैंकले जनाएको छ ।

समायोजन तथा मर्जरको नीतिका कारण भने चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्था १४९ शाखा घटेका छन् । चालु आर्थिक वर्षको असार अन्तिममा वाणिज्य बैंकका ५ हजार ९९ शाखा रहेका थिए । चालु आवको वैशाखसम्ममा यस्तो संख्या ४ हजार ९ सय ६३ मा झरेको छ ।

त्यसैगरी २०८२ असारमा विकास बैंकको शाखा संख्या १ हजार १३२ रहेकोमा २०८३ वैशाखसम्म आइपुग्दा १ हजार ११९ मा सीमित भएको छ । तर, सो अवधिमा फाइनान्स कम्पनीको शाखा भने २ वटाले बढेको छ । २०८२ असारमा २९१ वटा रहेका फाइनान्स कम्पनीका शाखा २०८३ वैशाखसम्ममा २९३ पुगेका छन् ।

केन्द्रीय बैंकको शाखा समायोजन नीतिमा के छ रु

बैंक तथा वित्तीय संस्थालाई शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न वा स्थानान्तरण गर्न वा गाभ्न केन्द्रीय बैंकको पूर्वस्वीकृति अनिवार्य गरेको छ ।

सो व्यवस्थालाई कायम राख्दै केन्द्रीय बैंकले गत मंसिरको निर्देशनमा महानगरपालिका भित्र रहेका शाखा समायोजन गर्न वित्तीय संस्था स्वयमले निर्णय सक्ने व्यवस्था थप गरेको हो ।

विद्युतीय कारोबार बढिरहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था आफैले महानगरपलिकामा रहेका शाखा समायोजनरएकीकरण गर्न सक्ने व्यवस्था गरेको छ । तर, सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएको शाखाको हकमा लिखित सहमति लिनुपर्ने व्यवस्था छ ।

शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा समेत प्रकाशन गर्नुपर्नेछ व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

दुई वा सोभन्दा बढी शाखा समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ । शाखा समायोजन गरेको ३ कार्यदिनभित्र तोकिएको विवरण केन्द्रीय बैंकमा पेश गर्नुपर्ने व्यवस्था छ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया