काठमाडौ, १५ असार २०८३ । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पुनः थुना म्याद थप प्रयोजनका लागि विशेष अदालतमा उपस्थित गराइएको छ । पौडेललाई थुना म्याद थपका लागि न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा बहसको तयारी भइरहेको छ ।
पौडेल गएको असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । अर्थमन्त्री रहेका बेला व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको छ ।
अदालतले यसअघि पौडेलविरुद्ध जारी जरूरी पक्राउ पूर्जी स्वीकृत गरेको थियो । पक्राउ पूर्जी स्वीकृत भएसँगै पौडेललाई अनुसन्धानका लागि सात दिनको थुना म्याद थप भएको थियो । यसअघि पौडेललाई असार ९ गते अदालतमा उपस्थित गराइएको थियो ।
पौडेलपत्नी दोमायाले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विभाग र प्रहरीसँग लिखित जवाफ माग गरेको छ ।






