काठमाडौं, ४ असार २०८३ । ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई बयानमा उपस्थित हुन म्याद पठाएको छ ।
अख्तियार स्रोतले डा।राणालाई अनुसन्धानका लागि म्याद तामेल भएको पुष्टि गरेको छ । अख्तियार राणाको बूढानीलकण्ठस्थित खण्डहर घरमा पुगेर म्याद टाँसेर फर्किएको छ । “एक दिनअघि नै रितपूर्वकको म्याद टाँसेर टोली फर्किएको जानकारीमा आएको छ,” अख्तियार स्रोतले बाह्रखरीसँग भन्यो, “पासपोर्ट छपाइबारे बयानका लागि हाजिर हुन आउने भन्ने छ ।”
तत्कालीन परराष्ट्रमन्त्री डा।राणा विदेशमा रही सम्पर्कमा नभएको भन्दै अख्तियारले खण्डहरमा परिणत भएको घरमा पुगेर म्याद तामेल गरेको हो । वडाका प्रतिनिधिहरूको रोहबरमा म्याद तामेली गरिएको थियो । म्याद तामेली प्रक्रियामा देउवा परिवारका कुनै सदस्य भने सामेल नभएको जनाइएको छ ।
अख्तियारले पासपोर्ट छपाइ खरिद प्रक्रियामा राणाको संलग्नताको आशंकासहित बयानका लागि म्याद तामेल गरेको हो ।
अख्तियारमा पासपोर्ट छपाइको ठेक्कापट्टा प्रक्रियामा डा। राणाको संलग्नता रहेको दाबीसहित उजुरी परेको छ । अहिले उजुरीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको छ ।
अख्तियारले पासपोर्ट छपाइ अनियमितता सम्बन्धी उजुरीमा छानबिनका लागि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि विशेष अदालतबाट थुना अनुमति लिएको छ ।






