Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

सन्देश सुब्बा

पाँचथर, २२ फागुन । जिल्ला कारागार पाँचथरको क्षमता ४० जनासम्म कैदीबन्दी राख्ने हो । तर अहिले कारागारमा एक सय ५३ जना कैदीबन्दी मुस्किलले बसेका छन् ।

एक सय ३६ पुरुष, १५ महिला र दुई नाबालक रहेको कारागारमा धेरैजना विभिन्न प्रकारका बिरामी छन् । सरकारले कारागारको क्षमताअनुसार मात्र औषधि पठाउने हुँदा अधिकांश बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । कारागारमा एकजना मानसिक रोगी, एकजना मुटु रोगी, अपाङ्गता भएका एक जना र दुई जना ७५ वर्षीय वृद्धसमेत कैद भुक्तान गरिरहेका छन् । एकजना दुई वर्ष पुग्न लागेका र एक जना १७ वर्षीय गरी दुई जना नाबालक पनि यहीँ छन् ।

अधिकांश थुनुवाहरूमा छालामा दाद रोगको समस्या रहेको कारागारका हेल्थ असिष्टेण्ट अनुप सेढाईं बताउँछन् । सामान्य किसिमको उपचार कारागारमै र अन्य उपचारका लागि थुनुवाहरूलाई जिल्ला अस्पताल लैजाने गरिएको छ । तर औषधि उपचार बापतको रकम अपुग हुँदा दीर्घरोगी र मौसमी प्रकोप हुँदा समस्या हुने गरेको हेल्थ असिष्टेण्ट सेढाईको भनाइ छ । केही समयअघि कारागारका कैदीबन्दीमध्ये ५३ जना एकैपटक ज्वरोले बिरामी हुँदा ठूलो समस्या भएको थियो ।

रकम अपुग हुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या हुने गरेको जेलर सुरेन्द्रबहादुर मुखिया बताउँछन् । उनी भन्छन्, ‘कैदीबन्दीको स्वास्थ्य उपचारका लागि वार्षिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म रकम छुट्टिएर आउँछ तर त्यो रकमले ६ महिना पनि पुग्दैन ।’

६ महिना नपुग्दै उपचारको बजेट सकिँदा कैदीबन्दी आफैले औषधि उपचार खर्च व्यहोर्नुपर्ने बाध्यता रहेको कारागारका नाइके टेकनाथ रिजालले गुनासो गरे । २०३० सालमा २५ जना कैदीबन्दी राख्न सकिने गरी बनाइएको कारागारमा पछि क्षमता वृद्धि गरेर ४० जनासम्मका लागि पूर्वाधार निर्माण गरिएको थियो ।

दश रोपनी क्षेत्रफलमा फैलिएको कारागारभित्र खानेपानीको सामान्य व्यवस्था छ । तर यहाँको शौचालयको अवस्था भने राम्रो छैन । जम्मा पाँच वटा शौचालय छन् । शौच गर्न कहिलेकाहीँ निकै लामो लाइनमा बस्नुपर्ने कैदीबन्दीको गुनासो छ । सुत्नका लागि खाटको पनि समस्या रहेको नाइके रिजालले बताए । मङ्गलबार कारागार पुगेका मानवअधिकारकर्मी र पत्रकारहरूको टोलीसँग उनीहरूले औषधिउपचार र सुत्नका लागि उचित प्रबन्ध मिलाउनका लागि पहल गरिदिन आग्रह गरे ।
ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया