काठमाडौं, २ असार २०८३ । सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्टको बयान विशेष अदालतमा सकिएको छ । उनीसँगै मुद्दा चलाइएका व्यवसायी सुलभ अग्रवालको भने आज (असार २) बयान सुरु गरिएको छ ।
बयान सकिएपछि मात्र थुनछेकसम्बन्धी बहस हुनेछ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा अग्रवालको बयान जारी छ ।
“प्रतिवादी भट्टको बयान सकियो, अग्रवालको बयान चलिरहेको छ,” विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले भने ।
अग्रवाल बिरामी परेका कारण यसअघि बयान रोकिएको थियो । उनीहरू दुवैजनालाई न्यायिक हिरासतमा राखिएको छ ।
थुनछेक बहसपछि मात्र अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा राख्ने भन्ने विषयको टुंगो लाग्नेछ ।
भट्टमाथि सम्पत्ति शुद्धीकरणबापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो असुल गरी सजायको माग गरिएको छ ।
व्यवसायी अग्रवालसँग २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बिगो मागदाबी गरिएको छ ।
हिमालयन रि–इन्स्योरेन्ससहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा सजायको माग राखेर उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो ।
सोही कसुरमा शंकर ग्रुपका सञ्चालक शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर समेतलाई अभियोगपत्रमा प्रतिवादी बनाइएको छ । चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ का अध्यक्ष थिए ।






