Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

काठमाडौं, २७ जेठ २०८३ । अमेरिका र इजरायलसँगको युद्धका कारण इरानमा आर्थिक संकट अझ गहिरिएको छ । युद्ध र अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धका कारण इरानमा वर्षौंदेखि आर्थिक संकट थियो । पछिल्लो समय यस्तो संकट झन् गहिरिएको हो ।

बढ्दो मूल्यवृद्धिले सामान्य नागरिकको जीवनयापन कठिन बनेको छ । दैनिक उपभोग्य वस्तुहरू किन्नसमेत धेरै परिवारलाई संघर्ष गर्नुपरेको छ ।

सरकारले न्यून आय भएका परिवारलाई राहत दिन न्यूनतम ज्याला वृद्धि र ‘फूड भौचर’ कार्यक्रम लागु गरेको छ । गत मार्चमा न्यूनतम ज्याला ६० प्रतिशतले बढाएर १६ करोड ६० लाख रियाल पुर्‍याइएको थियो । तर, धेरै इरानीहरूका अनुसार मूल्यवृद्धिको गति तीव्र भएकाले यी उपायहरू प्रभावकारी हुन सकेको छैन ।

तेहरानका एक बासिन्दाका अनुसार चामलको मूल्य दुई सातामै ९ प्रतिशतले बढेको छ । कुखुराको मासुको मूल्य दोब्बरभन्दा बढी पुगेको छ भने दूधको मूल्य करिब ५० प्रतिशतले वृद्धि भएको छ । तर, फूड भौचरको रकम भने यथावत् रहेको उनीहरूको गुनासो छ ।

मूल्य निरन्तर बढिरहेकाले धेरै परिवारले भविष्यमा थप महँगीने डरले खाद्यान्न, सरसफाइ सामग्री र अन्य अत्यावश्यक वस्तुहरू भण्डारण गर्न थालेका छन् ।

अमेरिका र इजरायलसँगको युद्धले इरानको आर्थिक संकटलाई थप गम्भीर बनाएको छ । तेल, ग्यास र रासायनिक मलको आपूर्तिमा अवरोध आउँदा इन्धन, यातायात र आयात महँगो बनेको छ, जसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको छ ।

हाल इरानमा पसलका र्‍याकहरू सामानले भरिएका देखिए पनि धेरै नागरिकको ती सामान किन्न सक्ने क्षमता घट्दै गएको छ । समस्या वस्तुको अभाव नभई क्रयशक्तिको तीव्र ह्रास भएको विश्लेषकहरू बताउँछन् ।

एक सुपरमार्केट सञ्चालकका अनुसार ग्राहकहरू अहिले निकै थोरै परिमाणमा किनमेल गर्न बाध्य छन् । “मानिसहरू सामान्य परिमाणमा समेत अत्यावश्यक सामग्री किन्न नसक्ने अवस्थामा पुगेका छन्,” उनले भने ।

इरानमा उच्च मुद्रास्फीतिका कारण अधिकांश कारोबार आधिकारिक मुद्रा रियालभन्दा ‘तोमान’मा हुने गर्छ । एक तोमान बराबर १० रियाल हुन्छ । हाल एक किलो चामलको मूल्य करिब ३० लाख रियाल पुगेको छ ।

लन्डनस्थित आर्थिक विश्लेषक आरजु करिमीका अनुसार इरानमा एक व्यक्तिको न्यूनतम क्यालोरी आवश्यकतासमेत पूरा गर्न मासिक ७० लाख तोमानभन्दा बढी खर्च लाग्ने अवस्था छ । उनका अनुसार तीन सदस्यीय परिवारको कुल आम्दानीको ७० प्रतिशतभन्दा बढी हिस्सा खानामै खर्च हुने भएकाले भाडा, स्वास्थ्य उपचार र शिक्षाजस्ता आधारभूत आवश्यकताका लागि पर्याप्त रकम बाँकी रहँदैन ।

करिमीका अनुसार परिवारहरू खर्च कटौती गर्न बाध्य भइरहेका छन् । सुरुमा प्रोटिनयुक्त खाना, त्यसपछि दुग्धजन्य पदार्थ र अहिले सामान्य रोटी तथा कार्बोहाइड्रेटयुक्त खाद्य सामग्री जुटाउनसमेत धेरै परिवारलाई कठिन भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया