विराटनगर, २४ जेठ २०८३ । पूर्वपश्चिम महेन्द्र राजमार्गको झापा खण्डमा पर्ने रतुवा खोलामा आकर्षक ‘स्टिल आर्क’ ब्रिज निर्माण भइरहेको छ ।
पूर्वपश्चिम एसियाली राजमार्ग अन्तर्गत दमक नगरपालिका र कमल गाउँपालिका खण्डमा निर्माण भइरहेको पुलको करिब आधा काम सकिएको छ ।
काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) ले कमल र दमक जोड्ने रतुवा खोलामा जस्तै आर्क ब्रिज मोरङमा पर्ने बक्राहा र लोहन्द्र खोलामा पनि निर्माण गरिरहेको आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिए ।
उनका अनुसार, यो पुल सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुनेछ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक देखिनेछ ।
रतुवा खोला खण्डको मात्रै ५०–५५ प्रतिशत काम पूरा भएको उनले बताए । आयोजनाले हेर्ने लोहन्द्र र बक्राहासहित समग्र तीनवटा पुल निर्माणको प्रगति करिब ४० प्रतिशत रहेको उनको भनाइ छ ।
रतुवा खोलामा ५८५ मिटर पुल बन्नेछ । यो पुलको पूर्वपश्चिम भागमा कंक्रिट संरचना हुनेछन् भने बीच भागमा स्टीलका संरचना राखिनेछ । लोहन्द्रा खोलामा ३८५ मिटर र बक्राहा खोलामा ३१८ मिटर लामो पुल निर्माण भइरहेको छ ।
तीनवटै पुलको निर्माणसम्बन्धी ठेक्का कोभेक–सिआरइजिसी–चाइना स्टेट सेभेन्थ जेभीले ५ अर्ब रुपैयाँमा लिएको छ ।
सन् २०२४ फ्रेबुवरी १२ मा सम्झौता भएको पुल निर्माण अवधि सन् २०२७ फेब्रवरी १ सम्मको छ । सम्झौता अवधिमा बक्राहा खोलाको बाहेक दुई वटा पुलको निर्माण सक्ने लक्ष्य छ ।
रतुवा पुलमा स्टिल आर्च निर्माणको काम धमाधम भइरहेको छ । स्टिलतर्फको धेरैजसो काम भइसकेको उनले बताए ।
रतुवा नदीमा बन्ने ५८५ मिटर लामो पुलमध्ये २६४ मिटर खण्ड ‘स्टिल आर्क’ हुनेछ, बाँकी खण्ड कङ्क्रिटको हुनेछ । यो पुलमा तीनवटा स्पान रहनेछ । पुल निर्माण भएपछि दमकको आकर्षण थप बढाउनेछ ।अनलाइनखबरबाट






