काठमाडौं, २४ जेठ २०८३ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिका विषयमा उठाइएका प्रश्नहरूको छानबिनका निम्ति सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । आइतबार रास्वपा गोरखा जिल्ला अधिवेशनका क्रममा उनले सार्वजनिक पदमा रहँदा उठाइएका सवालको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको स्पष्ट पारे ।
“मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ,” उनले भने, “बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।”
बयानका बेलाको एउटा रोचक प्रसंग कोट्याउँदै उनले भने, “समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ?’ भनेर प्रश्न गर्यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ ।”
छानबिन समितिको प्रतिवेदन हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगिसकेको र आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको गुरुङले बताएका उनको सचिवालयले जनाएको छ ।
‘पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू’
उनले आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पने आशा व्यक्त गरे । “यदि, समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।”
सचिवालयका अनुसार, सांसद गुरुङले रास्वपाको संगठन निर्माण र आउँदो नेतृत्वको कार्यशैलीका बारेमा पनि स्पष्ट धारणा राखे । अब बन्ने जिल्ला सभापति राजधानीकेन्द्रित हुन नहुने उनको भनाइ थियो ।
“अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ,” उनले भने, “राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन ।”
कार्यक्रममा उनले आफू गृहमन्त्री हुँदा आमजनताबाट अभूतपूर्व साथ र सहयोग पाएको स्मरण गरे । निर्वाचनमा विजयी गराउने गोरखाका मतदातालाई गुरुङले ‘विशेष धन्यवाद’ समेत ज्ञापन गरेका सचिवालयले जनाएको छ ।






