Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अलमलमा पार्टी एकता

काठमाडौं । एकता प्रक्रियाको खाका बनाइरहेका ओली र दाहाल दुवै जना दोस्रो तहका नेताहरूका सार्वजनिक अभिव्यक्ति बन्द गराउने पक्षमा छन् । दुबै पार्टीका केही केन्द्रीय पदाधिकारीहरुको एकताको बिषयमा आएका बिबादास्पत अभिब्यक्तिले पुसको जाडोलाई पनि तताईरहेको छ । एकता प्रक्रिय भाँड्न दुबै दलका केही नेता खुलेरै मिडियामा छाएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको बाम एकता एउटै प्रकृतिको बहसको रटानले अलमल परेको छ । एकले सरकार र अर्काेले पार्टी चलाउने माओवादी अडान कायमै छ । त्यस्तै सरकारको नेतृत्व ओलीले गर्ने र ओली र दाहाल सहअध्यक्ष रहने एमालेको अडान पनि कायमै देखिन्छ ।

दुबै पार्टीका अध्यक्ष ओली र प्रचण्ड भने गम्भिरताका साथ पार्टी एकताको खाका छिटो टुंगेमा पुर्याउन लागिपरेका स्रोतले बताएको छ । अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्।

गत असोज १७ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि तत्काल चुनावी एकता गर्ने र पछि पार्टी एकता नै गर्ने भन्दै गत असोज १७ गते हतारहतार चुनावी एकता गरेपनि त्यसपछिका एकताका गतिविधिहरु भने निस्क्रियजस्तै भएका छन् ।
बिहीबार चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गठन हुनुभन्दा अघि नै पार्टी एकता हुने बताएपनि कार्यकर्ता र नेताहरु नै जति ढिलो भयो त्यति नै एकता भाँडिन्छ भनेर शंका गर्दै आएका छन् ।
एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल , बामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन् ।
नेताहरुले एकताको लागि समय नदिएको र सामान्य कुरामा बढी समय बिताउने गरेकाले सर्वसाधारणले समेत एकता होला कि नहोला भनेर चिन्ता गर्दै आएका छन् । एकता जटील प्रक्रिया भएकाले केही ढिलो हुन्छ भनेर नेताहरुले अभिव्यक्ति दिन थालेका छन् ।
एकता संयोजन समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन । पटकपटक बैठक बसेर टुंगोमा पुग्ने भनिँदै आएपनि कस्तो प्रक्रिया अपनाउने र सिट बाँडफाँट कसरी गर्ने भन्नेमा कोही पनि प्रष्ट छैनन् । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले अध्यक्ष ओलीको बिरामी भएर केही दिन बैठक बस्न नसकेको बताए ।

‘अनौपचारिक बैठक भइरहेका छन् बाहिर केही भएको देखिएन भन्दैमा केही पनि काम नै अघि बढेको छैन र एकता हुँदैन कि भन्ने होइन ’ ज्ञवालीले भने ‘कस्तो मोडालिटीमा जाने भन्ने ‘वर्कआउट’ हुँदैछ , सबै विषयलाई सहमतिमा नै छलफलबाट टुंग्याइन्छ, बाहिर गरिएका जति पनि शंकाहरु छन् ती होइनन् ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबैजसो विषय टुंगिएकाले अब एकताको औपचारिक घोषणा मात्र गर्न बाँकी भएको भनेर जनता तथा कार्यकर्तालाई ढाँट्दै आएका छन् । तर पार्टीर्कै नेताहरुले भने महत्वपूर्ण विषयमा छलफल नभएकाले नै अलमल भएको भन्दै आएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २–३ दिनमा एकता संयोजन समितिको बैठक बस्ने बताए । ‘ कार्यसूची तयार हुँदैछ अब बैठक बसेर एकताको प्रक्रिया अघि बढ्छ’ श्रेष्ठले भने ‘ सांगठनिक र वैचारिक दृष्टिकोण पनि तयार हुँदैछ ।’ नेकपा एमालेका सचिव योगेश भट्टराइले आफूलाई यसबारेमा धेरै कुरा थाहा नभएको बताए । उनले भने ‘ ठूला नेताहरु हुनुहुन्छ समितिमा फुर्सद नभएर बैठक बस्न नसकेको होला ।’

चुनावी तालमेलका लागि भएको एकता हतारमा भएकाले पनि धेरै विषयवस्तु छलफल हुन बाँकी भएको दुवै पार्टीका नेताहरु बताउँछन् । प्रचण्ड र ओलीबीच के सहमति भएको थियो भन्ने पनि प्रमुख नेताहरु नै अनविज्ञ छन् ।
निर्वाचन परिणामपछि ठूलो दल भएको एमाले र तेस्रो दल भएको माओवादी केन्द्रबीचको एकता सम्भव कि असम्भव भन्ने प्रश्न पनि उब्जिएका छन् ।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रमुख दुई अध्यक्षबीच चारपटक ‘वान टु वान ’ बैठक भएको जनाए । उनले पहिलोपटक ओली निवास बालकोटमा, दोस्रोपटक प्रचण्ड निवास खुमलटारमा , तेस्रो बबरमहलको एक गोप्य ठाउँमा दुई नेताबीच भेट भएको बताए । अधिकारीले बैठक भएको अर्को ठाउँ भने खुलाएनन् ।

नेकपा माओवादी केन्द्रका निवर्तमान सांसद रामनारायण बिडारीले नयाँ सरकार गठन नहुँदा नै बाम एकता अलमलमा परेको प्रष्ट पारे । ‘ सरकार बनेपछि ओली र दाहालको व्यवस्थापन हुन्छ त्यसपछि अन्य प्रक्रिया अघि बढाउन सजिलो हुन्छ ’ बिडारीले भने ‘ एकजना अध्यक्ष र अर्का प्रधानमन्त्री यसमा शंका गर्नै पर्दैन ।’ बिडारीले सरकार गठन भएपछि प्रमुख नेताहरुको कहीँ न कहीँ व्यवस्थापन हुने बताए । उनले दोस्रो तहका केही नेताहरु एकता नहोस् भन्ने पक्षमा रहेकाले पनि काम अलमलिएको हुन सक्ने संकेत गरे । उनले केन्द्रमा एकता भएपछि बनाइने समितिले प्रदेश, जिल्ला, नगर र गाउँको एकता टुंग्याउने पनि जनाए । बिडारीले दुबै पार्टीका स्थापित नेताहरुको व्यवस्थापन हुनुपर्ने तर्क गरे ।

निर्वाचन परिणामलगत्तै एमाले महासचिव ईश्वर पोखरेलले एमाले अध्यक्ष ओली नै पार्टी अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता बन्ने अभिव्यक्ति दिएपछि एकता प्रक्रियाका बारेमा टिकाटिप्पणी हुने थालेको छ ।
माओवादीको बैठकले सबै पद छोड्न नहुने निश्कर्ष निकालेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्न चाहेको नेताहरुले बताएका छन् ।

पार्टीको नाम के राख्ने भन्ने पनि अहिलेसम्म टुंगो छैन । निर्वाचनमा ४० प्रतिशतमा चित्त बुझाएको माओवादी केन्द्र भने पार्टी एकता हुँदा सम्मानजनक हुनुपर्ने भन्दै आएको छ । महाधिवेशनमा पनि ५० प्रतिशत प्रतिनिधि आफ्नो पक्षबाट छानिनुपर्ने माओवादीको तर्क छ ।

तपाईको प्रतिक्रिया