Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २१ फागुन । काठमाडौं जोड्ने रेलका बारेमा काम अघि बढ्न नसके पनि यहाँको ‘ट्रयाक गेज’ का बारेमा भने अहिले नजानिँदो विवाद उत्पन्न हुन थालेको छ । यस विषयमा खासगरी नेपालका छिमेकी भारत र चीनको चासो बढेको देखिएको छ । यो चासो अन्तर्राष्ट्रिय मिडियामा पनि प्रचार हुन थालेको छ । चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले हालै यसबारेमा लामो समाचार सामग्री प्रकाशित गरेको थियो ।

जसमा भारतले ब्रोड गेज रेल बनाउने प्रस्ताव नेपाललाई राखेकोमा नेपालले अस्वीकार गरेर चीनको गेजसँग मिल्नेगरी स्ट्यान्डर्ड गेजको प्रस्ताव गरेको बताएको थियो । सो पत्रिकाका अनुसार ब्रोडगेज चलाएमा भारतसँग मात्रै नेपाल रेल सञ्जालमा जोडिनेछ । बाँकी विश्वसँग जोडिन नेपालले स्ट्यान्डर्ड गेजको रेल चलाउनुपर्छ ।

आखिर भएको के हो ?

दुई छिमेकीबीच नेपालको भावी रेलको बारेमा ‘प्रोक्सि वार’ चल्न थालेको प्रसंगमा बाह्रखरीले रेल विभागका महानिर्देशक बाबुराम मिश्रसँग जिज्ञासा राख्दा उनले भने, ‘‘पहिला भारतसँगको कुराकानी ब्रोडगेज रेलकै लागि भएको हो । अहिले नेपालका तर्फबाट स्ट्यान्डर्ड गेजको लागि कुरा भइरहेको छ ।”

भारतको प्रतिक्रिया के छ त ? महानिर्देशक मिश्र भन्छन्, “प्रारम्भिक चरणमा कुरा भएको हो । उहाँहरु सकारात्मक नै हुनुहुन्छ । फेरि यस विषयमा कुराकानी हुनेछ ।” उनले पनि विश्वकै मापदण्डअनुसार गर्नका लागि नेपालले स्ट्यान्डर्ड गेजमा नै जानुपर्ने अवस्था रहेको बताउँदै भने, “नेपाल सोही मापदण्डमा नै जाने कुरामा विवाद छैन । यसमा कसैसँग विवाद पनि छैन ।”

महानिर्देशक मिश्रका अनुसार अहिले भारतको जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म निर्माण गरिएको ३५ किलोमिटर लामो रेल मार्ग ब्रोडगेज रेलका लागि हो । जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र जनकपुरबाट कुर्थासम्मको ६ किलोमिटर गरी उक्त रेलमार्ग ३५ किलोमिटरको छ ।

पछि त्यसलाई विस्तार गरेर कुल ५२ किमी बनाइने योजना रहेको छ । सो रेलमार्गलाई लम्ब्याउन भने नमिल्ने बताइएको छ । किनकि त्यहाँ ब्रोडगेज चल्नेछ । ‘‘भारतबाट बर्दिबाससम्म मात्रै सो रेल चल्नेछ,” महानिर्देशक मिश्रले भने । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रेलसेवा चलाउनका लागि नै नेपालले अहिले स्ट्यान्डर्ड गेजको रेलको कुरा भारतसँग गरिएको उनको भनाई थियो ।

अप्रिल २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेका बेलामा विहारको रक्सौलबाट काठमाडौंसम्म रेल सञ्जाल ५ वर्षभित्रमा जोड्ने सहमति भएको थियो ।

सोहीअनुसार प्रारम्भिक चरणमा नेपाल र भारतका अधिकारीहरुबीच कुराकानी भइरहेको बताइएको छ । नेपालले सरकारी तहबाट नै दुईवटा रेल खरिदका लागि यसअघि नै प्रस्ताव पठाइसकेको छ ।

नेपालमा राणा शासनको समयमा न्यारो गज रेलवे बृटिश सरकारले सन् १९७२ मा बनाइदिएको हो । ३९ किमी लामो सो रेलले भारतको रक्सौल र नेपालको अमलेखगञ्जलाई जोडेको थियो । त्यहाँबाट भीमफेदीसम्म हेभी इक्वीपमेन्ट ल्याउनसजिलो पारिएको थियो । भीमफेदीबाट काठमाडौं पैदल आउने गरिन्थ्यो ।

दोस्रो, बेलायतले नै सन् १९३७ मा बनाइदिएको ४५ किमी लामो रेलमार्ग जयनगरबाट–जनकपुरसम्म नेपालको काठ भारत लैजानको लागि बनाइएको थियो । पछि त्यसलाई बिजलपुरासम्म विस्तार गरिएको हो । रक्सौल–अमलेखगञ्ज रेलवे ट्रयाक सन् १९६५ सम्म अपरेसनल रहेकोमा जनकपुर र बिजुलपुराबीचको रेले लाइन सन् २००१ मा बन्द भएको थियो ।

चीनमा कस्तो छ चर्चा ?
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले हालै प्रकाशित गरेको समाचारमा नेपालले चिनियाँ स्ट्यान्डर्डको देशव्यापी रेल नेटवर्क बनाउन लागेको जनाइएको छ । निकेइ एशियन रिभ्युले केहीअघि प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले यस विषयमा भारत नेपाललाई मनाउन असमर्थ भएको दाबी गरिएको छ ।

भारतले अझ चौडा रेलमार्गको कुरा गरेको त्यसमा जनाइएको छ । अहिले नेपालको तेस्रो देशसँगको व्यापार भारत हुने गरेको र चीनको मापदण्डअनुसारको नेपाली रेल भएमा तेस्रो देशसँगको व्यापारमा नेपाल भारतसँग भर पर्नुपर्ने अवस्था नरहने जनाइएको छ ।
यसबाट नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिएको देखिएको सो समाचारमा जनाइएको छ ।

नीतिगत रुपमा नै अहिले नेपालको लागि मौका पनि हो । यो नेपालको छनोटको विषय भएकोले यसमा राजनीतिक विषय नदेखिएको समेत समाचारमा जनाइएको छ ।

चीनले स्ट्याण्डर्ड गेज १४३५ मिलिमिटर तोकेको र सो मापदण्ड विश्वका ६० प्रतिशत रेल लाइनमा प्रचलनमा रहेको जनाइएको छ । स्ट्यान्डर्ड गेज सिस्टमले भविश्यसम्म धान्ने र चीनको मापदण्डअनुसार गर्दा नेपालले अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्न तथा यसो हुँदा नेपाल विश्वव्यापी रेल सञ्जालमा जोडिन पाउने समेत सो समाचारमा उल्लेख छ ।

भारतले विभिन्न खालका गेजहरु प्रयोग गर्ने गरेको तथा केही तथ्यांकहरुले भारतका ८० प्रतिशत रेल १६७६ मिलिमिटर चौडा गेजका रहेको र न्यारो गेजमा १ हजार ७६२ र ६१० मिलिमिटर समेत रहेको जनाइएको छ । भारतमा नै एकरुपता नभएको बेलामा नेपाललाई उसको गेजअनुसार चल्न अप्ठेरो रहेको र नेपालले छनोट गरेको गेजले बाँकी विश्वलाई जोड्न समेत मद्धत गर्ने ग्लोबल टाइम्सले जनाएको छ ।

नेपालको यो मान्यताले भारतलाई पनि स्ट्यान्डर्ड गेज चलाउन दबाब पुग्ने आशा गरिएको समाचारमा उल्लेख छ । भारतीय रेलमार्गमा निरन्तर रुपमा दुर्घटना दोहोरिने गरेको र सो रेलमार्ग सर्वसाधारणका बीच पपुलर भएपनि पुनर्निर्माणको लागि लगानी नहुँदा दुःखदायीपनि रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

गेजका प्रकार कति ?
ब्रोड गेज रेलको चौडाई १६७६ मिलिमिटर (एमएम) बाट १५२४ एमएम सम्म तथा स्ट्यान्डर्ड गेज १४३५ एमएमबाट १४५१ एमएमसम्म हुन्छ । मेट्रो गेज १०६७ देखि १००० वा ९१५ एमएमसम्म हुन्छ भने न्यारो गेज ७६२ एमएम देखि ६१० एमएमसम्म हुने विश्वव्यापी मान्यता रहेको छ ।

रेल चल्ने बाटोमा ट्राफिक बढी हुने सम्भावना छ भने स्ट्यान्डर्ड गेज भन्दा बढीको रेल राम्रो हुने मानिन्छ । त्यस्तै, गरिबीमा रहेको क्षेत्रको विकासको लागि विश्वको विकसित भूभागसम्म न्यारो गेजलाई लैजान सकिने र बाह्य विकसित भूभागसँग जोड्न सकिने समेत अन्तर्राष्ट्रिय विज्ञहरुले बताउने गरेका छन् ।

ट्रयाकको मूल्य यसको गेजअनुसार फरक पर्ने गरेको छ ।

न्यारो गेज बनाउन सस्तो हुन्छ । साना पुल र साना टनेल बनाउँदा पनि हुन्छ । कतिपय अवस्थामा यस्तो गेजवाला रेल छोटो समयको लागि बनाएर पछि हटाइने समेत गरेको छ । ब्रोड गेज बनाउन गाह्रो हुन्छ । तथापि यसले हेभी र फास्टर ट्राफिकलाई सम्बोधन गर्न भने मद्धत गर्दछ ।

तपाईको प्रतिक्रिया