Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, ७ कार्तिक २०८१ । झापाको केर्खा बजारको तनावपूर्ण स्थिति नियन्त्रण बाहिर रहेको छ। आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन्।

करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन्। सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन्। असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन्। भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले आशु ग्यास समेत प्रहार गरेका छन्।

काँकडभिट्टाबाट काठमाडौं हिँडेको प्र-१-०१-००१ ख ४३३१ नम्बरको यात्रुबाहक बसले रात्रि बसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा कमल गाँउपालिका-३ सानो केर्खा बस्ने हजुरबुबा ६० वर्षिय टेक बहादुर लिम्बु र उनको नातिनी तत्काल नाम नखुलेकी अन्दाजी ९ वर्षिया बालिकाको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरूको शव सडकमा राखिएको छ।

मृतक बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए। बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्रि बसले उनीहरूलाई ठक्कर दिएको थियो। बर्थडे केक र मासु सडकभरि छरपस्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ। बस र बस चालक जिल्ला झापा शिवसताक्षी नगरपालिका-१ बस्ने वर्ष ३२ वर्षिय बिशाल ठटाललाई पक्राउ गरि सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया