Online Bichar
बिहिबार, जेठ १४, २०८३ | Thursday, May 28, 2026

झापा, १४ जेठ २०८३ । झापाको बाह्रदशी गाउँपालिका–३ मा ट्र्याक्टरबाट लडेर घाइते भएका एक श्रमिकको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार जेठ १० गते दिउँसो करिब १२ बजे गणेश गिरीको घरआँगनमा मे १ त ६२६८ नम्बरको ट्र्याक्टरबाट बालुवा अनलोड गर्ने क्रममा सोही ट्र्याक्टरमा काम गर्ने बाह्रदशी गाउँपालिका–३ बस्ने ३३ वर्षीय शिवलाल हेमरम अचानक लडेर घाइते भएका थिए ।

घटनापछि उनलाई उपचारका लागि स्थानीय राजगढ मेडिकलमा लगिएको थियो । प्रारम्भिक उपचारपछि चोट सामान्य रहेको भन्दै डिस्चार्ज गरिएको थियो । तर, जेठ १२ गतेदेखि पेटको दुखाइ बढेपछि उनलाई थप उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो । उपचारकै क्रममा बुधबार राति १२ः२५ बजे हेमरमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ । घटनासम्बन्धमा बाह्रदशी गाउँपालिका–२ घर भई वडा नं। ३ बस्दै आएका लक्किराम टुडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया