Online Bichar
मंगलबार, जेठ ०५, २०८३ | Tuesday, May 19, 2026

झापा, ४ जेठ २०८३ । झापाको काँकडभिट्टाबाट करिब डेढ करोडको सुन र अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल कोलकात्ता बस्ने ३९ वर्षीय परम पाठक रहेका छन् ।

आज साँझ ५ः१० बजे मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित भन्सार ढाँटमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म र मेची भन्सार कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका पाठकमाथि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सुन ,अमेरिकी डलर, भारतीय रुपैयाँ बरामद भएको जनाइएको छ ।

उनको साथबाट एक करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबरको ५७० ग्राम सुन, ३० लाख ६५ हजार बराबरको २० हजार अमेरिकी डलर, ८५ हजार ४१० भारतीय रुपैयाँ, सवारी चालक अनुमतिपत्र, आधार कार्ड, भिभो मोबाइल , सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक बरामद भएको छ । उनलाई आवश्यक कारबाहीको लागि सामानसहित मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

 

तपाईको प्रतिक्रिया