विराटनगर, ४ जेठ २०८३ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा पारिवारिक अवस्थाको दबाब र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबीच एक युवकले आफैंलाई गम्भीर चोट पुर्याएका छन् । ३३ वर्षीय आशकुमार राई आफ्नै घाँटी रेटेको गम्भीर घाइते अवस्थामा फेला परेका हुन् ।
घटना सोमबार बिहानको हो । प्रहरीका अनुसार राईलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो । तर,अवस्था जटिल देखिएपछि चिकित्सकको सिफारिसमा उनलाई विराटनगरको विराट नर्सिङ होममा थप उपचारका लागि भर्ना गरिएको छ ।
उनको उपचार जारी रहेको र अवस्था गम्भीर देखिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए । प्रारम्भिक अनुसन्धान र स्थानीय तथा आफन्तको भनाइअनुसार आशकुमार पछिल्लो केही समयदेखि असामान्य व्यवहार देखाउँदै आएका थिए । उनी मानसिक रूपमा असन्तुलित जस्तो देखिने,एक्लै बोल्ने,अनौठो व्यवहार देखाउने र कहिलेकाहीँ आक्रोशित हुने जस्ता संकेतहरू देखिन थालेको स्थानीयले बताएका छन् । आफन्त र छरछिमेकले उनको व्यवहारमा आएको परिवर्तनका बारेमा चिन्ता व्यक्त गर्दै निगरानी समेत गर्दै आएका थिए ।
घटना हुनुभन्दा अघिल्लो रात अर्थात् आइतबार राति पनि स्थानीयवासी र आफन्तले उनको अवस्थाका बारेमा शंका गर्दै घरमै निगरानी गरेका थिए । तर, बिहान ८ बजेतिर घरको कोठाभित्र प्रवेश गरेपछि खुकुरीले घाँटी रेटेको गम्भीर घाइते अवस्थामा आशकुमारलाई भेटिएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । डीएसपी लामिछानेका अनुसार घटनामा कुनै बाह्य संलग्नताको संकेत अहिलेसम्म भेटिएको छैन । ‘प्रारम्भिक रूपमा व्यक्तिगत मानसिक तथा पारिवारिक अवस्थासँग सम्बन्धित घटना भएको देखिन्छ,’उनले भने ।
प्रहरीका अनुसार आशकुमारकी पत्नी विगत तीन वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् । उनकी ७ वर्षीया छोरीसमेत रहेको खुलेको छ । लामो समयसम्म पत्नी विदेशमा रहँदा पारिवारिक एक्लोपन र मानसिक तनाव थपिएको हुन सक्ने स्थानीयको अनुमान छ ।
छिमेकीहरूका अनुसार पछिल्ला दिनहरूमा राईको व्यवहार झनै असामान्य बन्दै गएको थियो । उनी कहिलेकाहीँ अनावश्यक रूपमा चिन्तित देखिने, एक्लै लामो समयसम्म बस्ने र सामान्य कुरामा पनि असहज प्रतिक्रिया दिने गरेका थिए । यही कारणले घटना हुनसक्ने आशंकामा आफन्त र छरछिमेकले निगरानी बढाएका थिए ।
यद्यपि, निरन्तर निगरानीका बाबजुद पनि घटना रोक्न नसकिएको स्थानीयको भनाइ छ । उनीहरूले मानसिक स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गरी उपचार नहुँदा यस्तो अवस्था आएको हुनसक्ने बताएका छन् । प्रहरीले घटनाको विस्तृत कारण,पछिल्ला दिनको व्यवहारिक अवस्था र पारिवारिक पृष्ठभूमिका बारेमा थप जानकारी संकलन गरिरहेको छ । साथै,मानसिक स्वास्थ्यसम्बन्धी पक्षलाई पनि अनुसन्धानको मुख्य आधार बनाइएको छ ।अन्नपूर्णपोष्टबाट






