काठमाडौं, ३० वैशाख २०८३ । यस वर्ष हिमाल आरोहणका क्रममा दुई विदेशीसहित पाँचजना आरोही तथा पथप्रदर्शकको मृत्यु भएको छ ।
पर्यटन विभागका अनुसार सन् २०२६ को बसन्त ऋतुमा हिमाल आरोहण गर्न अनुमति प्राप्त पाँचजना आरोही तथा पथप्रदर्शकको हिमाल आरोणका क्रममा मृत्यु भएको हो ।
तीनजनाको सगरमाथा आरोहण र दुईजनाको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु हुनेमा तीनजना नेपाली पथप्रदर्शक रहेका छन् । उनीहरूमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ का लाक्पा डेन्डी शेर्पा, सोलुदुधकुण्ड नगरपालिका–७ का विजय घिमिरे र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का फुरा गेल्जेन शेर्पा छन् । उनीहरू सबैको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हा ।
मृत्यु हुने दुई विदेशमा एकजना चेक रिपब्लिक र एकजना अमेरिकी नागरिक छन् । उनीहरू दुवैको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुने चेक नागरिक डेभिड रुबीनेक र अमेरिकी नागरिक जोहान्सेन शेली रहेका छन् ।
यही वैशाख २० देखि २८ गतेसम्मको अवधिमा सगरमाथा र मकालु हिमाल आरोहणका क्रममा पाँचजनाको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।






