Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौँ १९ फागुन । गत साता नेपालको हवाई उडानको इतिहासमा अर्को नराम्रो झट्का लागेको छ । उज्वल भविष्य भएका कम्युनिस्ट नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङको पाथीभरा मन्दिरबाट उडेको निमेषभरमै हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

गत फागुन १५ गते बुधवार मन्त्री अधिकारीसहित यति एयर, दुर्घटना भएको डाइनेस्टी एयर तथा हिमालयन एयरका संचालक आङछिरिङ शेर्पा, उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुवदास भोछिभोय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल तथा मन्त्री अधिकारीका अङ्गरक्षक अर्जुन घिमिरेको पनि उक्त दुर्घटनामा मृत्यु भएको छ । साथै हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीले पनि आफ्नो जीवन गुमाएका छन् ।

यस साताको समीक्षा दुर्घटनाको समाचारलाई नेपाली दैनिक पत्रिकाले कसरी लिए र यसको कारण र निदानका विषयमा के कस्ता समाचार प्रकाशित गरे भन्ने विषयमा केन्द्रित रहेको छ ।

पर्यटनमन्त्री अधिकारीसहित सात जना दुर्घटनामा परेको समाचार बिहीवारका दैनिक पत्रिकाले महत्त्वकासाथ प्रकाशित गरे । कान्तिपुर, नागरिक, गोरखापत्र, राजधानी तथा हिमालय टाइम्सले यो समाचारलाई आठ कोलम अर्थात् पूरै दायाँदेखि बायाँ छेउसम्मको मुख्य समाचार बनाए । अन्नपूर्ण पोस्टले यो समाचारलाई सात कोलमको स्थान दियो भने नयाँ पत्रिकाले साढे तीन कोलमको स्थानमात्र दियो ।

कान्तिपुरले ग्राफिक्स र फोटोको माध्यमले दुर्घटनास्थलको जानकारीसहित घटना हुनुभन्दा अगाडिको अवस्थाको पनि चित्रण गर्‍यो । अन्य पत्रिकाले पनि हेलिकप्टर खसेको स्थानको फोटो प्रकाशित गरे । नागरिकले मन्त्री अधिकारीको परिचयसहित अन्य समबन्धित सामग्रीका लागि पूरै दोस्रो पृष्ठ र चौथो पृष्ठ दियो ।

गोरखापत्रले तेस्रो पृष्ठमा अधिकारीको जीवनीसहित अन्य सामग्री प्रकाशित गर्‍यो । कान्तिपुर तथा अन्नपूर्ण पोस्टले पनि दोस्रो र तेस्रो पृष्ठमा मन्त्री अधिकारीका विषयमा विभिन्न सामग्री दिए । नागरिक तथा अन्नपूर्ण पोस्टले सम्पादकीयमा पनि मन्त्री अधिकारीको निधनमा दुःख जनाउँदै उनीप्रति श्रद्धाञ्जली दिए ।
शुक्रवारका अधिकांश दैनिकले श्रद्धाञ्जलीका समाचार प्रकाशित गरे । केही पत्रिकाले उद्धार कार्यको र केहीले दुर्घटनाको कारणका विषयमा अड्कलबाजीका समाचार प्रकाशित गरे । अन्नपूर्ण पोस्टले मानवीय कोणको समाचार प्रकाशित गर्‍यो । प्रथम पृष्ठमा पोस्टले प्रकाशित गरेको समाचारको शीर्षक थियो, ‘बाबा आउने बाटो हेर्दै रवीन्द्रका छोरा ।’

पोखरा–५ स्थित अधिकारी निवासमा जब शुभचिन्तकहरूको सान्त्वता दिने भिड जम्मा हुँदै थियो रवीन्द्रका सुपुत्र आठ वर्षीय स्वराज अधिकारी भने बार्दलीमा बसेर बुबा आउँछन् कि भनेर टोलाइरहेको समाचार र तस्बिर पोस्टले प्रकाशित गर्‍यो ।

नयाँ पत्रिकाले शुक्रवारको अंकमा हवाई सुरक्षामा प्रश्न गर्दै सम्पादकीय लेख्यो । मन्त्री र उड्डयन क्षेत्रका वरिष्ठ सरकारी अधिकारी सवार ‘भीआईपी’ उडान नै असुरक्षित हुन्छ भने सर्वसाधारणको सुरक्षाको अवस्था कस्तो होला भन्ने सो पत्रिकाको सम्पादकीय प्रश्न रह्यो ।

साथै नयाँ पत्रिकाले किशोर नेपालको लेख पनि प्रकाशित गर्‍यो जसमा नेपालले अधिकारीको मृत्युलाई दुःखद र हृदयविदारक भए पनि यो घटनासँग राष्ट्रिय शोक र बिदाको जोड कतै मिल्दैन, सरकारले सम्यक निर्णय गरेको होइन उत्ताउलिएकै हो भनेर लेखे । सोही पत्रिकाले नेकपाका नेता योगेश भट्टराईको अधिकारीप्रतिको सम्झना र सम्मान पनि प्रकाशित गर्‍यो ।

कान्तिपुरले मन्त्रीको टोली प्रशासन र सुरक्षा निकायलाई खबरै नगरीकन पाथीभरा दर्शन गर्न पुगेको समाचारलाई शुक्रवारको मुख्य समाचार बनायो । नागरिकले तेस्रो पृष्ठमा ताप्लेजुङको छिनछिनमा बदलिइरहने मौसमका कारण हवाई उड्डयनमा समस्या भएको समाचार प्रकाशित गर्‍यो । साथै नागरिकले मन्त्री अधिकारीले दुर्घटना हुने बिहान तेह्रथुमको चुहान डाँडामा गरेको सम्बोधन पनि तेस्रो पृष्ठमा प्रकाशित गर्‍यो ।

कान्तिपुरले शुक्रवार सम्पादकीयमार्फत् तारेभिरको हेलीकप्टर दुर्घटनाको पाठ स्मरण गर्दै आकाश छ्याङ्ग उघ्रेको नहेरी हतार नगर्नु भन्ने सन्देश दियो । हिमालय टाइम्सले पनि सम्पादकीयमा फेरि यस्तो दुर्घटना नदोहोरियोस् भन्ने कामना गरेको छ । गोरखापत्रले शुक्रवार सम्पादकीयमा उडान सुरक्षामा चिन्ता प्रकट गर्दै यस विषयमा विशेष ध्यान पुर्‍याउन आह्वान गरेको छ । राजधानीले पनि सम्पादकीय मार्फत नेपाली आकाश झन्झन् असुरक्षित भएकोमा चिन्ता जनाउँदै सुरक्षा प्रयास गर्न सम्बद्धको ध्यानाकर्षण गरेको छ ।

नागरिक दैनिकले शनिबारको अंकमा ताप्लेजुङको हेलिकप्टर दुर्घटना लापरबाहीले भएको समाचारलाई सात कोलमको मुख्य समाचार बनायो । विदेशका र नेपालका विभिन्न विशेष व्यक्तिको सवारी सुरक्षा निकायको सल्लाहमा बारम्बार रद्द भएको उदाहरण दिँदै नागरिकमा लेदिएको छ – “केन्द्रीय सुरक्षा समितिबाट तय भएको सुरक्षा निर्देशिका पालना नगरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको तथ्य खुलेको छ ।”

प्रतिकूल मौसममा कुनै सावधानी नअपनाई सो उडान गरेकाले दुर्घटना हुन गएको नागरिकका मातृका दाहालले सेनाका अधिकारीलाई उद्धृत गर्दै समाचारमा लेखेका छन् । सो समाचारमा उडानका लागि सेनाको हेलिकप्टर किन प्रयोग गरिएन ? निजी कम्पनीका मालिकसँग किन अनुगमनमा अधिकारी गए ? भन्ने प्रश्न गरिएको छ । त्यस्तै, विशिष्ट तथा अतिविशिष्ट व्यक्तिले हवाई यात्रा गर्दा सिंगल इन्जिनको जहाज वा हेलिकप्टर प्रयोग गर्न नपाइने नियम पनि समाचारमा सम्झाइएको छ ।

तपाईको प्रतिक्रिया