Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

टोपराज शर्मा

बुटवल, १८ फागुन, । डेढदशक अघिसम्म गाईभैंसीको चरन क्षेत्र रहेको उजाड वन अहिले भरिभराउ रुख बिरुवाले हरियाली मात्र छैन, जिल्लाकै नमूना पर्यटकीय स्थलको रुपमा परिचय बनाएको छ ।

‘कताकति बोट बिरुवा थिए, गाई भैंसी चराउने चरिचरन थलो थियो, भैरहवासम्म छ्याङगै देख्न सकिन्थ्यो’—विगत सम्झंदै स्थानीय कृष्ण शर्मा बस्यालले भने—‘समुदायले जिम्मा लिएर संरक्षण थालेपछि उजाड वनको स्वरुप र परिचय नै फेरिएको हो ।’ २०५७ सालसम्म बेवारिसे अवस्थामा रहेको रुपन्देहीको बाउन्नकोटी वन समुदायमा हस्तान्तरण भएपछि तारबार गरेर संरक्षण पाएपछि हराभरा हुन थालेको हो ।

तिलोत्तमा नगरपालिका तथा सियारी र ओमसतिया गाउपालिकाको ७ वटा वडाका बीचमा रहेको बाउन्नकोटी सामुदायिक वनले अहिले रुपन्देहीको सौराहाको उपमा पाएको छ । यहां रहेको प्राचीन बाउन्नकोटी मन्दिर, नन्द–भाउजु ताल र सिमसार क्षेत्रको संरक्षण अनि बृक्षारोपणले हराभरा भएपछि करिब एक सय ५५ हेक्टर क्षेत्रफलको वन अहिले आन्तरिक पर्यटकको रोजाईको गन्तव्य स्थल बनेको छ । बाउन्नकोटाी वन नजिकै १० किलोमिटर आसपास क्षेत्रमा यस्तो हरियालीयुक्त रमणीय स्थान अरु नभएकाले यहाँ भैरहवादेखि भारतीय सीमावर्ती शहर सुनौली, नौतनवा, गोरखपुरसम्मबाट समेत पर्यटकहरु घुम्न र पिकनिकका लागि आउने गर्छन् । आन्तरिक पर्यटकको आगमन बढेसँगै यहाँ दर्जन बढी पिकनिक सेड र बाल उद्यानहरु निर्माण गरिएका छन् ।

वर्षेनी करिब एकलाख बढी पर्यटक आउने गरेको वनका निवर्तमान अध्यक्ष कृष्ण शर्मा बस्याल बताउंछन् । वनका लाभान्वित घरधुरी ८ हजारमध्ये ३ हजार पांच सय बढी सदस्य छन् । यो वन टिक प्रजाति भएको नेपालको पहिलो वन पनि हो । ७५ वटा प्लटमा विभाजित वनमा ३० प्लटमा टिक मात्रै लगाइएको छ भने ४५ वटा प्लटमा टिक,शिशौ र अन्य प्रजातिका बिरुवा लगाइएको छ । वनमा वैज्ञानिक वन व्यवस्थापन पद्धति लागु गरिएको छ । जस अनुसार हरेक वर्ष २ हेक्टर क्षेत्रफलका पुराना रुख मासेर नयां रुख रोपिन्छ । जसबाट वार्षिक ८० लाख भन्दा बढी आम्दानी लिने गरिएको वनका अध्यक्ष भोलाप्रसाद यादव बताउंछन् । ‘वैज्ञानिक वन व्यवस्थापन, बिरुवा बिक्री र पिकनिक आउने समूहबाट हुने सबै आम्दानी जोड्दा वर्षेनी एक करोड भन्दा बढी आम्दानी गर्न सफल भएका छौं’—अध्यक्ष यादवले भने—‘तर यो अवस्थासम्म आइपुग्न समुदायले वन संरक्षणमा ठूलो मेहनत र लगानी गरेको छ ।’

वनको आम्दानीलाई स्थानीय आमा समूह, युवा क्लबहरुलाई ५० हजारदेखि एक लाख रुपैयांसम्मका दरले कर्जा दिएर तरकारी खेती,बाख्रापालन लगायतका व्यवसाय गर्न वनले उत्प्रेरित गरेको छ । यसबाट वनप्रति समुदायको माया र अपनत्व बढेको छ । वनलाई हालसालै सरकारले सयवटा पर्यटकीय गन्तव्यमा राखेर ५० लाख वजेट दिएपछि उपभोक्ता समिति अझै हौसिएको छ । सरकारको ५० लाख वजेटमा समूले ११ लाख थपेर अहिले ६१ लाख रुपैयां लागतमा एक बिघा क्षेत्रफलमा व्यवस्थित पार्किङ स्थल, टिकट घर र प्रवेशद्वार बनाउन शुरु गरिएको छ ।

सरकारले पर्यटकीय गन्तव्य स्थलमा पारेसंगै वनले एक अर्ब रुपैयां लागतको १० वर्षे गुरुयोजना बनाएर कार्यान्वयन गर्ने तयारीमा जुटेको छ । ‘अब बाउन्नकोटी वनलाई नमूना पर्या पर्यटकीय स्थल बनाउछौं, वर्षमा दुई लाख पर्यटक भित्राएर आम्दानी पनि दोब्बर बनाउंछौ’—अध्यक्ष यादवले भने ।

गुरुयोजना अनुसार वनभित्र रहेका एक—एक बिघाका प्राचीन नन्द—भाउजू ताललाई सौन्दर्यीकरण, बाल उद्यान र पिकनिक स्पटहरुको स्तर बृद्धि र विस्तार, १० हेक्टर सिमसार क्षेत्रलाई ताल बनाएर माछापालन र डुंगा शयर, वनको वरिपरिको सडकलाई चक्रपथमा रुपान्तरण, वन विहार गर्न चारै दिशामा फुटपाथ निर्माण, खेल मैदान, भ्यू टावर, पर्याप्त शौचालय, खानेपानीको आपूर्ति जस्ता संरचनाहरु बनाउने योजना रहेको वनकी सचिव विमला चौधरीले बताइन् ।

बुद्ध जन्मस्थल लुम्बिनी र वन नजिकै रहेको विदेशी लगानीको पांचतारे होटल टाइगर प्यालेस रिसोर्टमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत वनको पर्या पर्यटनसँग जोड्ने उद्देश्यले गुरुयोजना बनाइएको चौधरीले बताइन् । १० वर्षभित्र वनलाई टिकमय र प्रदेशकै नमूना पर्यटकीय स्थल बनाउने लक्ष्य रहेको छ ।

गुरुयोजनामा वनभित्रै व्यवस्थित गौशाला, बाउन्नकोटी मन्दिरको संरक्षण तथा प्रवद्र्धन, छेउछाउका बस्तीहरुलाई ग्रिन भिलेजको रुपमा परिणत गरी होम स्टे सञ्चालन गर्ने पनि समावेश छ । वनलाई प्रदेशकै नमूना पर्यटकीय स्थल बनाउन प्रदेश सरकारले पनि चासो राखेकाले गुरुयोजना समयमै पूरा हुने र १० वर्षभित्रै लगानी पनि उठाउने लक्ष्य छ ।

तपाईको प्रतिक्रिया