Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, १८ फागुन २०८२ । अमेरिका–इजरायली हवाई आक्रमणमा इरानमा कम्तीमा ५५५ जनाको मृत्यु भएको रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ । शनिबारयता इरानका १३१ सहरमा आक्रमण भएको जनाइएको छ ।

इरानी संसद्का सदस्य मोहम्मद बेइगीले नौ अस्पतालमा गम्भीर क्षति पुगेको जिकिर गरेका छन् । आइतबारका आक्रमणमा परी कैयौँ अस्पतालका बिरामी समेत घाइते भएका उनले बताएका छन् ।

इजरायल
इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता इजरायलमा कम्तीमा १० जनाको मृत्यु भएको छ । २०० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । ज्यान गुमाएका मध्ये नौजना बेट शेमेश सहरका हुन् । त्यहाँ एउटा आश्रयस्थलमा क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

लेबनान
दक्षिण लेबनान र बेरुतमा गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको त्यहाँको सार्वजनिक स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इराक
इराकको इरान समर्थित अर्धसैनिक समूह पपुलर मोबिलाइजेसन फोर्सेसका चार सदस्य उनीहरूको एउटा मुख्यालयलाई निसाना बनाएर गरिएको अमेरिका–इजरायली आक्रमणमा मारिएका छन् । उक्त समूहको मिडिया निर्देशनालयले सोमबार टेलिग्राममार्फत यसबारे जानकारी दिएको हो ।

संयुक्त अरब इमिरेट्स
संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयका अनुसार, इरानको प्रत्याक्रमणका क्रममा त्यहाँ तीनजनाको मृत्यु भएको छ ।

कुवेत
कुवेतमा तीन अमेरिकी सेवा सदस्य (सैनिक) मारिएका जनाइएको छ ।

बहराइन
बहराइनको सलमान इन्डस्ट्रियल सिटीमा एउटा विदेशी जहाजमा खसालिएको क्षेप्यास्त्रको अवशेषका कारण आगलागी हुँदा एकजनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

तपाईको प्रतिक्रिया