Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, १८ फागुन २०८२ । इरानले गरेको आक्रमणमा परी युनाइटेड अरब इमिरेट्स (यूएई) मा मारिने एकजना नेपालीको परिचय खुलेको छ ।

यूएईको अबुधाबीस्थित नेपाली दूतावासका अनुसार, मारिने नेपाली गोर्खाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन् ।

“अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत नेपाली नागरिक दिवस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दुःखद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,” नेपाली दूतावासले सोमबार जारी गरेको समवेदना सन्देशमा भनिएको छ ।

श्रेष्ठको निधनप्रति नेपाली दूतावासले दुःखसमेत व्यक्त गरेको छ ।

“परिस्थिति सहज भएपश्चात् स्व। श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न नेपाली राजदूतावास तत्पर रहेको व्यहोरा अनुरोध गरिन्छ,” नेपाली दूतावासले भनेको छ ।

यस संवेदनशील परिस्थितमा यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन तथा यूएई सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूर्ण रूपमा पालना गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया