Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

जाजरकोटा, ८ फागुन । गंगालाल हृदय केन्द्रले देशका दुर्गम जिल्लामा पनि मुटुको रोगको प्रकोप बढ्दै गएको निश्कर्ष निकालेको छ ।

गएको साता काठमाडौंबाट गएको २२ जना चिकित्सक एवं स्वास्थ्य प्राविधिक टोलीले जाजरकोटमा गरेको निःशुल्क मुटु परीक्षणबाट उक्त निश्कर्ष निकालेको हो ।

निःशुल्क मुटु परीक्षण शिविरमा ४२ जनालाई मुटुको गम्भीर रोग भएको पहिचान गरिएको थियो । तीमध्ये २४ जनालाई तुरुन्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरेर उपचार सुरु गरिएको डा. रवि मल्ले बताए ।

जाजरकोटमा यति धेरै मुटुका रोगी भेटिनु आफैमा आश्चर्यजनक र चिन्तायुक्त कुरा भएको गंगालाल हृदय रोग केन्द्रले जनाएको छ । यसले दुर्गमका अन्य जिल्लाहरूमा पनि मुटु रोगको प्रकोप बढिरहेको संकेत देखिएको उनको ठहर छ ।

‘जाजरकोटबाट काठमाडौं ल्याइएका सबै रोगीलाई हामी निःशुल्क उपचार गर्नेछौं,’ डा. मल्लले अनलाइनखबरसँग भने, ‘काठमाडौंमा बस्ने खाने व्यवस्था जयन्ती ट्रस्ट र सम्मान फाउण्डेशन नामक संस्थाहरूले गरिरहेका छन् । जाजरकोटमा भेटिएका मुटु रोगीमध्ये सबैको जीवन रक्षा हुने आशा हामीले गरेका छौं ।’

उक्त स्वास्थ शिविरमा जिल्लाका ८ सय ४२ जनाको मुटु परीक्षण गरिएको थियो । तीमध्ये मुटु रोगको शंका गरिएका ३ सय १० जनालाई इको र ४ सय ५० जनाको इसिजी परीक्षण गरिएको थियो ।

‘हामीले भेटेका ४२ मुटुर रोगीमध्ये धेरैको मुटुमा प्वाल देखिएको छ । केहीको भल्व परिवर्तन गर्नुपर्नेछ,’ डा. मल्ल भन्छन्, ‘हामी बेला बेला जिल्ला जिल्ला पुगेर यस्ता परीक्षण गरिरहेका हुन्छौं तर जाजरकोटमा मुटुका रोगी सोचेभन्दा बढी भेट्यौं ।’

गंगालाल हृदय केन्द्रले मुटु परीक्षणका आवश्यक सम्पूर्ण सामग्री जिल्ला पुर्‍याएको थियो । तीन महिना लामो प्रचार प्रसारका कारण गाउँगाउँबाट रोगी आएका थिए ।

‘पडाही क्षेत्रमा एउटा रोग जँचाउन मात्र यति धेरै रोगी आउनु चेतनाका दृष्टिले आफैमा ठूलो उपलब्धि हो,’ डा. मल्ल भन्छन्, ‘कतिपय रोगीहरू तीन दिन हिँडेर शिविरमा आइपुगेका थिए । अरू जिल्लामा यो स्तरको संयोजन भएको थिएन ।’

शिविरका संयोजक संस्था सम्मान फाउण्डेशनका अध्यक्ष डा. माणिकलाल श्रेष्ठले अन्य जिल्लाको तुलनामा जाजरकोटमा मुटुका रोगी बढी भेटिनुमा संस्थाले लामो समय लगाएर शिविरको तयारी गरेको कारण सम्भव भएको बताएका छन् ।

‘गंगालालसँग निशुल्क उपचार गरिदिने कोष छ । गाउँ गाउँमा पुग्ने योजना र दक्ष चिकित्सक टोली पनि छ । अत्याधुनिक पोर्टेबल प्रविधि पनि छन् । केवल लामो तयारीसहित संयोजन गर्ने संस्था थिएन । जुन कमीलाई हामीले पुरा गरेका छौं,’ डा. माणिकलाल श्रेष्ठले अनलाइन खबरसँग भने, ‘यो शिविरबाट अन्य दुर्गम जिल्लामा कसरी काम गर्न सकिन्छ भन्ने अनुभव भएको छ ।’

मूलतः शिविरको चुस्त व्यवस्थापन, संयोजन तथा निर्देशन सम्मान फाउण्डेशनका सदस्य एवं समाजसेवी राजेश्वर कार्कीले गरेका थिए भने जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख मनबहादुर रावल, हरिबहादुर बस्नेत, राजुविक्रम शाहले स्थानीय संयोजनमा विशेष सहयोग गरेका थिए ।

शिविरका लागि जिल्लाका भेरी नगरपालिका, छेडागाड नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका, नेपाल हृदयरोग निवारण प्रतिष्ठान जाजरकोट शाखा, नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखा, भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माध्यमिक विद्यालयको पनि सहयोग रहेको बताइएको छ ।

‘उपचार गराइरहेका केही किशोर-किशोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने तयारी पनि पूरा गरेका छौं,’ डा. माणिकलाल श्रेष्ठ भन्छन्, ,’गरिबी र अशिक्षाका कारण पनि धेरैले रोग पहिचानमा समस्या भोगेको हामीले देख्यौं । अब त्यस्ता रोगीलाई १२ कक्षासम्म निःशुल्क पठन-पाठनको ब्यवस्था गर्न हामी तत्पर छौं ।’

ज्ााजरकोटको एक दिने शिविरमा यति ठूलो सङ्ख्यामा मुटु रोगी भेटिएपछि सम्मान फउण्डेशन, ललितपुरले अन्य जिल्लामा पनि यही स्तरको मुटु रोग पहिचान शिविर गर्ने योजना बनाएको छ ।

‘कुनै पनि दुर्गम जिल्लामा स्थानीय निकाय, समाजसेवी संस्था वा व्यक्तिले यस किसिमको संयोजन गर्छु भनेर हामीलाई जानकारी दिए हामी यस्ता कार्यक्रम सहज रुपमा गर्ने थियौं । यस्ता शिविरमा भेटिएका मुटुरोगीको निशुल्क उपचार मात्रै होइन, आवश्यक परेका बालबालिकालाई हामी निःशुल्क शिक्षा पनि प्रदान गर्न तत्पर छौं,’ डा. माणिकलाल भन्छन्, ‘म अनलाइनखबर मार्फत सबैलाई आफ्नो जिल्लामा भएका मुटुरोगीसम्म पुग्ने वातावरणका लागि अनुरोध गर्दछु । किनभने हरेक कुरामा सरकारको मुख ताकेर मात्र हुँदैन ।’

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments